शिक्षक आन्दोलनलाई लक्षितः शिक्षा ऐन चाँडै आउँछ– प्रम ओली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरुले आन्दोलन गरिरहनु नपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले रुपन्देही जिल्ला कमिटीले आज बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताए ।

समस्याहरु छन्, तर सडकमा गइरहनुपर्ने थिएन । शिक्षकहरुलाई म भन्न चाहन्छु, शिक्षा ऐन चाँडै आउँछ । तपाईँहरुले आफ्ना समस्या मात्र हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ, उनले भने ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा यकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे ।

यसैबीच देशभरबाट प्रतिनिधित्व गरेर आएका शिक्षकहरु गत चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । उनीहरु दैनिक माइतीघरमा भेला भएर बानेश्वरसम्म आएर धर्ना दिँदै आएका हुन् । आफूहरुले न्याय नपाएसम्म काठमाडौँबाट नफर्कने उनीहरुले बताउँदै आएका छन् ।