दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राख्न आदेश


काठमाडौँ । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । बिहीबार भारतमा पक्राउ परेर शुक्रबार नेपाल ल्याई दिउँसो काठमाडौँ जिल्ला अदालतमा समय थपका लागि प्रहरीले लगेकामा अदालतले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

न्यायाधीश शिशिर ढकालको एकल इजलासले प्रसाईं र उनका अङ्गरक्षक दीपक खड्कालाई थुनामा राखेर अनुसन्धान गर्न १२ दिनको समय दिएको हो । उनलाई कारबाही गर्न यतिबेला प्रहरीले विभिन्न मुद्दा लगाउनेबारे तयारी गरिरहेको छ । गत चैत १५ गते राजावादीहरुको आन्दोलनमा हिंसा मच्याउन उक्साउने उक्त आन्दोलनका नाइके प्रसाईं तीनकुनेमै निषेधित क्षेत्रमा गाडी हुँइकाउँदै कार्यकर्तालाई उक्साएर आफू भागेका थिए ।
उनलाई प्रहरीले १५ गतेदेखि नै खोजी जारी राखेको भए पनि सफल हुन सकेको थिएन । कहिले ललितपुर त कहिले हेटौँडातिर रहेको शंकाबीच प्रहरीले उनलाई खोजी जारी राख्यो । अन्ततः उनले भारतको असाममा असुरिक्षत रहेको भन्दै आसामस्थित भारतीय प्रहरीसमक्ष सुरक्षा माग गरेर शरणमा पुगेको बताइएको छ । भारतीय प्रहरीले सामको गुवाहाटीबाट नियन्त्रणमा लिएर नेपालको सीमा क्षेत्रमा छाडेपछि नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाउने तयारी गरेको हो ।

‘
तत्काल उनलाई ज्यान मार्ने अपराधमा मुद्दा चलाउने तयारी रहेको भए पनि विभिन्न मुद्दा उनीमाथि आकर्षित हुन सक्ने देखिएको छ । उनीमाथि ज्यान मुद्दा, चोरी तथा डकैती, निजी सम्पत्ति तोडफोड तथा आगजनी, सार्वजनिक सम्पत्ति हानि नोक्सानी, ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण तथा संगठित अपराधमा अनुसन्धान हुने बताइएको छ ।
राजावादीको हिंसात्मक प्रदर्शनमा प्रसाईंले प्रहरीलाई कुल्चने गरी गाडी कुँदाएका थिए । उनको उक्त दुस्साहससँगै उनका कार्यकर्ता हौसिएका थिए ।
उक्त तीनकुनेको हिंसात्मक घटनामा पत्रकार सुरेश रजकसहित दुई जनाको ज्यान गएको थियो भने एक सय २९ जना घाइते भएका थिए । घाइते धेरैजसोलाई निको भएको छ । पाँच जना अझै अस्पतालमा उपचाररत छन् । प्रहरीले प्रसाईंलाई सोही दिनदेखि खोजी गरे पनि भगुवा भागेर भारत पुगेका थिए । यद्यपि प्रसाईंले आफू भागेर कतै नजाने, मर्न नडराउने जस्ता उत्तेजक सन्देश दिँदै कार्यकर्ता उचालेका थिए ।
१५ गतेको उक्त घटनामा जिम्मेवार ठहर्याउँदै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र माहमन्त्री डा धवलशमशेर राणालाई भने पक्राउ गरेको छ । उनीहरुको तीन दिन म्याद थपिइसकेको छ । अहिलेसम्म प्रहरीले हिंसात्मक घटना, लुटपाट, आगजनी लगायतमा संलग्न भएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मिश्र र राणालाई राजद्रोह, संगठित अपराध र सार्वजनिक उपद्रवसहितका मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। अन्यको पनि अनुसन्धान भइरहेको छ ।






















