गर्भनर नियुक्तिमा सरकार ‘कुहिरोको काग’

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमनलाई देखाएर करिब ३ महिना अघिदेखि शेयर बजारमा विभिन्न हल्ला चलाउन थालिएको थियो ।

अधिकारी गत चैत २२ गते शुक्रबार आफ्नो ५ वर्षीय कार्यकाल सकेर बिदा भए । ५ वर्षको अवधिमा गभर्नरले ५ वटा मौद्रिक नीति ल्याउँदा एउटा मौद्रिक नीति शेयर बजारमैत्री ल्याए ।

बाँकी ३ वटा शेयर बजारलाई ध्वस्त पार्ने थिए । आफ्नो कार्यकालयको अन्तिम मौद्रिक नीति भने गभर्नर अधिकारीले शेयर बजारको क्षेत्रमा विगतमा गरेको गल्ती केही सुधार गरेर गएका थिए । गभर्नर अधिकारीले राष्ट्र बैङ्कबाट बिदा लिंदै गर्दा आउने गभर्नरको लागि विभिन्न सुझाव दिँदै बाहिरिएका थिए । गभर्नर अधिकारी औपचारिक रुपमा बाहिरिँदा लगानीकर्ताले दीप प्रज्ज्वलन गरेर खुसियाली व्यक्त गरे ।

विगतदेखि नै लगानीकर्ताले गभर्नर अधिकारी घर जाँदै गर्दा बजारले कम्तीमा २ सय अङ्कको बढोत्तरी हुने अनुमान गर्दै आएका थिए । तर, अधिकारी गएको साता भने त्यसको उल्टो भयो ।

चैतको अन्तिम साता अर्थात् चैत २४ गतेदेखि २८ गतेसम्म शेयर बजार ४ दिन मात्र कारोबार भयो । आइतबार सार्वजनिक बिदा भएकाले गर्दा शेयर कारोबार भएन । सातामा ४ दिनमात्र शेयर कारोबार हुँदा बजारमा भने खासै उत्साह देखिएन । सातामा ३ दिन बजार घट्यो भने एक दिनमात्र बजार बढ्यो ।

पूरा सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.६९ अङ्कले घट्यो । अघिल्लो साताको बिहीबार २७७० बिन्दुमा रहेको नेप्से परिसूचक चार दिनको अवधिमा दैनिक औसतमा ८.१७२५ अङ्कले घटेर यो साताको बिहीबारसम्म आइपुग्दा २६७०.७० बिन्दुमा आइ पुग्यो ।

कारोबारको हिसाबले हेर्दा सातामा ठीकै कारोबार भयो । चार दिनको अवधिमा जम्मा २१ अर्ब ९ करोड ११ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दैनिक औसतमा ५ अर्ब २७ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भयो । समग्र सातामा ४ करोड २१ लाख १६ हजार ८८२ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा १ करोड ५ लाख २९ हजार २२० कित्ता शेयर कारोबार भयो ।

सातामा २ लाख ३ हजार ९३० पटक शेयर किनबेच हुँदा दैनिक औसतमा ५० हजार ९८३ पटक शेयर किनबेच भयो । औसतमा दैनिक ३२० वटा कम्पनी कारोबारमा आए । गभर्नर अधिकारी बाहिरिए पनि अर्का गभर्नर को आउने ? भन्ने अहिलेसम्म टुङ्गो लागि नसकेकाले बजार घटेको शेयर विश्लेषक राजु पौडेल बताउँछन् ।

‘गभर्नर त बाहिरिए तर अब नयाँ गभर्नर को बन्लान् ? खस्केको शेयर बजार, मौद्रिक बजार बुझ्ने व्यक्ति नियुक्त हुन्छन कि हुँदैनन् ? कहीँबाट झोले ल्याएर नियुक्त गर्छन् कि भन्ने अन्योलता छ, पौडेलले भने, ‘निलम ढुङ्गानालाई कार्यवाहक दिइएको छ, उनको पनि कताकता चर्चा आइरहेको छ ।

घर जान लागेका गर्भनरलाई गालीको वर्षा
फागुनदेखि नै गभर्नर अधिकारीको ‘बहिर्गमन’ भन्दै शेयर बजारमा उचार–चढाव हुन थालेको बजारमा गभर्नर घर फर्किंदासमेत समेत शेयर बजार भने राताम्य नै भयो । गभर्नर अधिकारीको शुक्रबार औपचारिक बहिर्गमनपछिको पहिलो शेयर बजारमा भने बाढी नै गयो ।

एउटा कारण भनेको गभर्नरको र अर्को मसान्तको प्रेसरको कारण बजार घटेको पौडेल बताउँछन् । अन्तर्राष्ट्रिय नीतिका कारण नेपालको बजार मलाई प्रत्यक्ष प्रभाव नपार्ने भएपनि मनोवैज्ञानिक प्रभवा पार्ने भएकाले गर्दा पनि बजार घटेको पौडेल बताउँछन् ।
नेपालको शेयर बजारमा एनआरएनलाई समेत नभित्र्याएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव नेपालाई नपर्ने पौडेल बताउँछन् ।
‘प्रत्यक्ष रुपमा बजार घट्दा हाम्रो बजारलाई असर पार्ने होइन, पौडेलले भने, ‘बजार भनेको मनोवैज्ञानिक तरिकाले चल्ने भएकाले त्यसको असर यहाँ परेको हो ।

गभर्नर नियुक्ति टुङ्गो नलागेकाले बजारमा गिरावट आएको विषयमा साधारण लगानीकर्ता सङ्घका अध्यक्ष ऋतुजङ्ग जिसी पनि सहमत छन् । गभर्नर नियुक्तिको विषयमा पछिल्लो समयमा विवाद उत्पन्न भएकाले त्यसले राजनीतिक अस्थिरता आएको हो कि भन्ने पनि लगानीकर्तामा परेकाले गर्दा अहिले लगानीकर्ताहरु शेयर बेचिरहेको जिसीको बुझाइ छ ।

‘गभर्नको नियुक्तिको विषयले राजनीतिक अस्थिरता आउने खालको खतरा देखियो, जिसीले भने, ‘त्यसले गर्दा पनि लगानीकर्ता डराएका हुन् । अहिले नयाँ लगानीकर्ता पनि कोही नथपिएको पुरानाले पनि सस्तोमा शेयर बेचेका कारण बजारमा गिरावट आएको जिसी बताउँछन् । अन्तर्राष्ट्रिय बजारको प्रभाव प्रत्यक्ष रुपमा केही नपरे पनि सामान्य रुपमा भने पर्ने भएकाले गर्दा पनि अहिले बजारमा गिरावट आएको जिसीको बुझाइ छ ।

‘अन्तर्राष्ट्रिय बजारको बाछिटा त हाम्रो बजारमा पनि परिहाल्छ नि, जिसीले भने, ‘विगतमा उता घट्दा पनि यता बढेको भए पनि मनोवैज्ञानिक रुपमा अहिले प्रभाव परेको हुन सक्छ ।

कुन दिन कस्तो थियो बजार
यो साताको आइतबार रामनवमी परेकाले सरकारले सार्वजनिक बिदा दिएको थियो । सार्वजनिक बिदा भएकाले गर्दा शेयर बजार पनि कारोबार भएन ।

तर सोमबार भने बजार राताम्य भएर बन्द भएको थियो । सोमबार नेप्से ३३.३३ अङ्कले घटेर २६७० बिन्दुमा आएको थियो । उक्त दिन नेप्से १.२३ प्रतिशतले घट्दा बजारमा ३७ अङ्कको उतार–चढाव देखिएको थियो । सोमबार नेप्से परिसूचक उच्चतम २७१० बिन्दु र न्यूनतम २६६७ बिन्दुमा पुगेको थियो ।

उक्त दिन नेप्से राताम्य हुँदा अघिल्लो कारोबार दिनको तुलनामा कारोबारमा भने गिरावट आएको थियो । सोमबार दिनभरमा ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको १ करोड १४ हजार ८६६ कित्ता शेयर ५५ हजार ७१२ पटक किनबेच भएको थियो । उक्त दिन ३२२ वटा कम्पनी कारोबारमा आएका थिए ।

नेप्से घट्ने क्रम मङ्गलबार पनि कायम रह्यो । बजार बन्द हुँदा हरियो देखिए पनि अन्तिममा १५ मिनेटको एभरेजिङ गर्दा भने नेप्से मङ्गलबार ३.४४ अङ्कले घटेको थियो ।उक्त दिन नेप्से ०.१२ प्रतिशतले घटेर २६६६.६१ बिन्दुमा आएको थियो । मङ्गलबार बजारमा ४५ अङ्कको उतार–चढाव देखिएको थियो ।

उक्त दिन नेप्से परिसूचक उच्चतम २६७४ बिन्दु र न्यूनतम २६३१ बिन्दुमा पुगेको थियो । मङ्गलबार पनि नेप्से घट्दा पनि कारोबार भने सामान्य नै रहेको थियो । उक्त दिन ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँ बराबरको १ करो ६ लाख ४३ हजार ८६६ कित्ता शेयर ५३ हजार ४९२ पटक किनबेच भएको थियो ।

मङ्गलबार दिनभरमा ३२१ वटा कम्पनी कारोबारमा आएका थिए । दुई दिन लगातार घटेको बजारमा बुधबार भने हरियाली छाएको थियो । बुधबार नेप्से ९.६६ अङ्कले बढेर २६६६ बिन्दुमा पुगेको थियो । उक्त नेप्से ०.३६ प्रतिशतले बढ्दा ३० अङ्कको उतार–चढाव बजारमा देखियो ।

बुधबार नेप्से परिसूचक उच्चतम २७०१ बिन्दु र न्यूनतम २६७१ बिन्दुसम्म पुगेको थियो । उक्त दिन नेप्से बढ्दा पनि कारोबार रकममा भने गिरावट आएको थियो । बुधबार ४ अर्ब ४८ करोड ४६ लाख २० हजार रुपैयाँ बराबरको १ करोड ७३ हजार ८२२ कित्ता शेयर ४५ हजार ९४ पटक किनबेच भएको थियो । उक्त दिन दिनभरमा ३१७ वटा कम्पनी कारोबारमा आएका थिए ।

एक दिन बजारमा देखिएको हरियाली टिक्न भने सकेन । साताको अन्तिम शेयर बजार घटेर बन्द भएको थियो । बिहीबार नेप्से ५.५७ अङ्कले घटेर २६७०.७० बिन्दुमा पुगेको थियो । उक्त दिन नेप्से ०.२० प्रतिशतले घट्दा बजारमा २० अङ्कको उतार–चढाव देखियो ।

बिहीबार नेप्से परिसूचक उच्चतम २६८८ बिन्दु र न्यूनतम २६६७ बिन्दुमा पुगेको थियो । बिहीबार नेप्से घट्दा कारोबारमा भने वृद्धि भएको थियो । उक्त दिन ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता शेयर कारोबार भएको थियो । बिहीबार बजार अवधिभर ३२१ वटा कम्पनी कारोबारमा आउँदा ४९ हजार ६३२ कित्ता शेयर कारोबार भएको थियो ।