‘सामन्त’को नेतृत्वमा ‘सर्वहारा क्रान्ति’


काठमाडौं । भारतका विख्यात योगगुरु स्वामी रामदेवलाई आजभन्दा करिब १२ वर्षअघि राजनीतिमा प्रवेश गर्ने भुत सवार भयो । अन्ना हजारेको लोकप्रिय आन्दोलन देखेका रामदेवले दिल्लीको रामलीला मैदानमा भ्रष्टाचारविरोधी तीनवटा माग राखेर अनशनको तयारी गरे।

सरकारविरोधी शान्तिपूर्ण प्रदर्शनको पूर्वसन्ध्यामै भारतीय प्रहरीले हस्तक्षेप गरेपछि रामदेव डरले थर्थर काँप्दै सेतो कुर्ता–सुरुवाल लगाएर महिलाको भेषमा भागे । रामदेवभित्र पसेको ‘राजनीतिको भुत’ त्यही रातदेखि उत्रियो ।
त्यही रामलीला मैदान हो, जहाँ रामदेवले त्यसअघि हजारौं मानिस भेला पारेर कयौंपटक सामुहिक योगासन गराएका थिए । मानिसहरु रामदेवले सुत् भन्दा सुत्थे । सास रोक् भन्दा सास रोक्थे । नाच् भन्दा नाच्थे । घोप्टो पर् भन्दा घोप्टो पर्थे । उत्तानो पर् भन्दा उत्तानो पर्थे ।

यसरी आफ्नो आदेशलाई शीरोपर गर्दै मानिसहरु साससमेत रोक्न तयार भएको देखेपछि रामदेवलाई लाग्यो– अब यी मानिसहरुलाई मैले राजनीतिमा डोर्याउँदा कसो साथ नदेलान् ?
तर, राजनीतिको कखरा नजानेका योगगुरु रामदेवलाई जन्तर मन्तरको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरे पनि आफूले गिरफ्तारी दिनु उपयुक्त हुने र त्यसबाट लोकतान्त्रिक भनिएको सरकारमाथि नैतिक दबाव पर्नेछ भन्ने शुद्धि आएन । त्यसैले उनी लिङ्ग परिवर्तनको नाटक गरेर मैदानबाटै टाप कसे । भाग्ने क्रममा रामदेवले आत्तिँदै भनेका थिए – ममाथि इन्काउन्टरको साजिस रचिँदैछ ।
रामदेवकै हालतमा दुर्गा प्रसाईं
झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईले विभिन्न बैंकबाट ५ ६ अर्ब रुपैयाँ ऋण लिएर बिर्तामोडमा अस्पताल र मेडिकल कलेज खोलेका थिए । उनको पहुँच केपी शर्मा ओली र प्रचण्डलाई एउटै डाइनिङ टेबलमा राखेर मार्सी चामलको भात खुवाउनेसम्मको थियो ।
बैंकले ६ अर्बसम्म ऋणमा पत्याएको र त्यही ऋणबाट खोलिएको अस्पतालमा सयौंलाई रोजगारी दिएको अनि पढेलेखेका डाक्टरहरुसमेत आफूमा निर्भर रहेको देखेपछि प्रसाईँमा पनि बाबा रामदेवमा जस्तै राजनीतिक नेतृत्वमा पुग्ने भुत चढ्यो ।
आफूलाई जन्मजात कांग्रेस बताउने प्रसाईं शुरुमा माओवादी र त्यसपछि नेकपा एमालेको केन्द्रीय सदस्य एवं उद्योग विभागको उपप्रमुख बने । अन्ततः युट्युवरहरुले हजूर त केपी ओलीभन्दा पनि लोकप्रिय भैसक्नुभयो भनेर हौस्याएपछि उनी एमाले छाडेर ‘हिन्दु राष्ट्र एवं नागरिक बचाऊ अभियान’ का नेता बने । ज्ञानेन्द्र शाहलाई काँकडभिट्टा बोलाएर अभियानको उदघाटन गरे ।
तर, जब चैत १५ गते उनैले भनेको ‘जनविद्रोह’को दिन आयो, काठमाडौंको तीनकुनेबाट भागेका प्रसाई भारतको आसाममा पुगेर मात्रै सास फेर्ने स्थितिमा पुगे । रामदेव रामलीलाबाट देशै छाडेर भागेका थिएनन् तर प्रसाईचाहिँ यति धेरै आत्तिए कि देशै छाडेर हिँडे । रामदेवले जस्तै उनले पनि आफू प्रहरीबाट मारिने खतरा रहेको अभिव्यक्ति दिए । डराएर लुके पनि उनले आफू निडर रहेको बताउन छाडेनन् ।
दुर्गा प्रसाईंसँगै तीनकुनेमा मञ्च सेयर गरेका राप्रपा नेताहरु धवलशमशेर जबरा र रवीन्द्र मिश्र भने भागेनन् । उनीहरु अहिले पनि प्रहरी हिरासतमै छन् । तर, देशमा राजनीतिक क्रान्ति गर्छु र डराएर भाग्दिनँ भन्ने प्रसाईमा भने नेताले प्रहरीसँग डराउनुहुँदैन र गिरफ्तारीसमेत दिन तयार हुनुपर्छ भन्ने आँट देखिएन ।
चैत १५ को प्रदर्शनमा हिंसाका लागि कार्यकर्तालाई उक्साएको आरोप सरकारले धवलसमशेर र रवीन्द्र मिश्रमाथि लगाएको छ । दुईसातासम्म फरार रहेका प्रसाईमाथि पनि यही आरोप छ । प्रसाईविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ । भारतको आसामबाट झापा हुँदै काठमाडौं जिल्ला अदालतमा ल्याइएका प्रसाईलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले शुक्रबार अनुमति दिएको छ ।






















