पर्सा प्रहरी प्रमुखसहित ४३ भन्दा बढी घाइते

वीरगन्ज । हुनमान जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् । दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

पर्साका प्रहरी प्रमुख गौतमले आफूसहित १७ जना नेपाल प्रहरी घाइते भएको जानकारी दिए । मेरो त दाहिने हातमा चोट लागेको छ, उनले भने, मेरो त त्यति धेरै ठूलो चोटपटक भएको छैन । अन्य प्रहरी कर्मचारीको भने धेरै चोट देखिएको छ । वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईँ समेत घाइते भएको छ ।

पर्सा प्रहरी प्रमुख मिश्रले ढुङ्गा हानाहानका क्रममा सर्वसाधारणतर्फ १२ घाइते भएको जानकारी दिए । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले नारायणी अस्पतालमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित सर्वसाधारण गरेर ४३ सर्वसाधारणको उपचार भइरहेको जानकारी दिए । शनिबारको तनावपछि यहाँ ४३ भन्दा धेरैको उपचार भइरहेको छ, उनले भने, कतिपय सामान्य उपचारपछि घर पनि फर्किएका छन् । केही घाइतेको भने यहाँ उपचार भइरहेको छ ।

प्रवक्ता सिंहले घाइते भएकाहरुको उपचारमा कमजोरी हुन नदिएको जानकारी दिए । अधिकांशको टाउको र छातीमा ढुङ्गा वा इँटाले लागेर घाइते हुनुभएको छ, उनले भने । सूर्या हस्पिटल प्रालिका प्रमुख सरोज सिंहले आफ्नो अस्पतालमा प्रहरी नायब उपरीक्षक सिंहसहित उपचार भएको जानकारी दिए ।