गम्भीर आरोपः प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलीहरुको पहुँच-गगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बिचौलीहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्षसम्म हुने गरेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्र र बिचौली फरक कुरा भएको बताउँदै अहिलेको अर्थतन्त्रमा समस्या बिचौलीका कारणले आएको जिकिर गरे । उनले बिचौलीहरुको पहुँच नेतृत्व तहको शयन कक्षसम्म हुने गरेकाले अहिलेको समस्या सिर्जना भइरहेको बताए ।

पहिला पहिला राष्ट्र बैङ्कको गभर्नरको बारेमा छलफल हुँदा यो बन्ला की त्यो बन्ला भन्ने कौतुहलता हुने गरेको भए पनि अहिले बिचौलीको क्यान्डिडेट भनेर खुल्लम खुला बहस र छलफल हुने अवस्था देखिएको बताए ।

महामन्त्री थापाले भने, ‘प्राइभेट सेक्टर र बिचौली भनेको फरक कुरा हो । हाम्रो इकोनोमिमा अहिले समस्या भएको भनेको बिचौलीको कारणले हो । विचौलियाहरुः म यो प्रधानमन्त्री त्यो प्रधानमन्त्री भन्दिनँ । बिचौलीहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो । नेतृत्वको बेडरुमसम्म हुने भयो । मलाई अहिलेसम्म थाहा थिएन । पहिला पहिला राष्ट्र बैङ्कको गभर्नरको बारेमा छलफल हुँदै गर्दा गभर्नर यो बन्ला की त्यो बन्ला की ।

गभर्नर यसले बनाउला की त्यसले बनाउला की ? भन्ने कुरा हुन्थ्यो । अब अहिले बिचौलीको क्यान्डिडेट भनेर खुल्लम खुला बहस हुने, छलफल हुने अवस्था बन्ला की आउने भनेको हामी कहाँनेर पुग्यौँ ? महामन्त्री थापाले आसेपासेलाई पोस्ने व्यवस्था पुँजीवादी व्यवस्था नै नभएको जिकिर गरे । नागरिक बलियो भए मात्रै राज्य बलियो हुने बताए ।