मन्त्री हेरफेर गर्न एमाले नेताको सुझाव

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अहिले केपी शर्मा ओली क्याबिनेटमा ३ राज्यमन्त्री २२ जना मन्त्री छन् । ओली सरकारमा रहेका २२ मन्त्रीमध्ये नेपाली काङ्ग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका छन् ।

पछिल्लो समय सरकारले प्रभावकारी काम गर्न नसकेको प्रश्नहरु उठिरहेका बेला मन्त्रीहरु परिवर्तनको विषयमा गठबन्धनभित्र छलफल चलेको छ । हुन त गठबन्धन भित्रकै दलका नेताहरु पनि मन्त्रीहरुको काम सन्तोषजनक नभएको कारण प्रधानमन्त्री असफल भएको बताउँदै आएका छन् । यता विपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यही साल सरकार ढल्ने दाबी गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीबीच छलफल र भेटवार्ता बाक्लिएको छ । नेताहरुका अनुसार दुई शीर्ष नेताले केही मन्त्रीहरु फिर्ता बोलाउने तयारीसमेत गरेका छन् । केही दिन अगाडि बसेको एमाले सचिवालय बैठक र बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि मन्त्री हेरफेरबारे कुराकानी भएको थियो । तर, सरकार परिवर्तन हुने कुरामा भने दुई दलका नेताहरू हल्ला भएको दाबी गर्छन् ।

एमालेबाट प्रधानमन्त्री ओली सरकारको नेतृत्वमा छन् । विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री, पृथ्वीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि, विद्या भट्टराई शिक्षामन्त्री र बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री छन् । यस्तै दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात, मानवीर राई रक्षा मन्त्री र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् ।

एमालेका यी आठ मन्त्रीमध्ये कतिपय मन्त्रीको त नाम पनि नागरिकले थाहाँ पाएका छैनन् । परिणाममुखी काम गरेर नामले चिनिनुपर्नेमा कतिपय मन्त्रीहरु गुमनाम छन् । कतिपयचाहिँ स्टन्टका लागि बोल्ने तर परिणाम देखिने गरी काम गर्ने नसक्ने स्थितिमा छन् ।

यसो भन्छन् प्रदीप ज्ञवाली
एमाले उपमहासचिव प्रदीप ज्ञवाली कांग्रेस एमाले गठबन्धन निमार्णमा सक्रिय भूमिका खेलेका नेता हुन् । उनी पनि सरकारको कामप्रति खुसी छैनन् । ९ महिना बितिसक्दा पनि सरकारले रिजल्ट दिन नसक्दा जनतामा निराशा छाएको स्वीकार गर्छन् । केही मन्त्रीहरूले स्टन्टका लागि बोल्ने तर सीमित स्रोत र साधन भएकाले काम गर्न नसक्ने अवस्था आएको उनको भनाइ छ । उनी कम बोल्न र काम हुने कुरा मात्र गरेर देखाउन सुझाव दिन्छन् । ज्ञवालीका अनुसार अहिले सरकार परिवर्तन हुने कुरा चाहिँ हल्ला मात्र हो ।

सरकार त परिवर्तनको कुनै सम्भावना छैन् । तर वास्तवमा कामको रिजल्ट आएको छैन । मेहनत त गरेको देखिन्छ । केही–केही मन्त्रीहरु विवादमा पनि आउनुभएको छ । जनताले जुन तरिकाबाट काम हुन्छ भन्ने रिजल्ट खोजेका थिए त्यो नभएको साँचो हो, ज्ञवाली भन्छन्, ‘मन्त्री, संरचनाको भूमिका र सहयोग असहयोगको कुराले पनि प्रभाव पारेको छ ।

सरस्वती सुब्बा
एमाले सांसद सरस्वती सुब्बा काम गर्न नसक्ने मन्त्रीहरुले पद ओगटेर बस्न नहुने तर्क गर्छिन् । उनी सक्षम मान्छेलाई अवसर दिनुपर्ने बताउँछिन् । मन्त्रीहरुले काम नगर्दा प्रधानमन्त्रीमाथि प्रश्न उठ्नु स्वाभाविक भएको भन्दै केही काम नभएको भन्ने तर्क विपक्षीको विरोधको रुप मात्र भएको उनको विश्लेषण छ । काम भए पनि परिणाम आउन समय लाग्ने भन्दै कतिपय कुराका लागि १० महिना अपुग हुने दाबी गर्छिन् ।

‘मन्त्रीहरु र प्रधानमन्त्रीले काम गरिरहनुभएको छ । काम गर्दा केही कुरामा त त्रुटि हुन्छ । मान्छेले काम गर्ने हो । अहिले बजारमा जुन किसिमले प्रधानमन्त्री असफल हुनुभयो मन्त्रीहरु पनि काम गर्न सकेनन् भन्ने त्यो प्रतिपक्षीको आरोप छ त्यो उहाँहरुको सत्ता मोह हो ।

उनले थपिन्, ‘सबै काम एक दिन र ९, १० महिनामा गर्न सकिँदैन । आर्थिक हिसाबले देश पनि कमजोर छ । शिक्षा मन्त्रीको कुरा गर्ने हो भने उहाँले राति पनि नसुती काम गर्नुभएको छ । अर्थमन्त्रीले पोखरामा बेलुन विस्फोट भएको १५ दिन पनि हस्पिटल नबसी हातमा ब्यान्डेज बाँधेर काम गर्नुभएको छ । उद्योग कलकारखानाको कुरा गर्दा सरकारले चलाएका उद्योग बन्द हुने, बाँकी चल्ने परिस्थिति छ । मन्त्रीहरूको कामको विषयमा मन्त्रिपरिषद् बैठकमा निर्मम समीक्षा हुनुपर्ने सुब्बा बताउँछिन् ।

युवराज ज्ञवाली
एमाले उपाध्यक्ष युवराज ज्ञवाली काम नै नभएको भन्ने भाष्य गलत भएको तर जति काम हुनुपर्ने, सन्तोषजनक नभएको स्वीर्काछन् । कांग्रेस एमाले सरकारबाट जनताले धेरै ठूलो अपेक्षा राखेको तर काम नहुनाले असन्तुष्टि बढेको भन्दै सच्चिने बेला आएको बताउँछन् ।

‘काम तीव्र बनाएर जानुपर्छ । सोचेअनुरुप हुन नसकेको साँचो हो । अर्थतन्त्र सुधार उन्मुख छ । तर यतिमा सन्तुष्ट हुने अवस्था छैन । धेरै कानुन बनाउने प्रयत्नमा शिक्षा मन्त्री हुनुहुन्छ । शिक्षा विधेयक पारित गर्न उहाँ सक्रिय हुनुहुन्छ । शिक्षकका माग पूरा गर्नमा पनि उहाँ रातदिन नभनी लाग्नुभएको छ, उपाध्यक्ष ज्ञवालीले भने ।