वर्तमान व्यवस्था भ्रष्टहरुको कारखानामा बन्योः थापा


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताएका छन् । बिहीबार एक कार्यक्रममा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाए ।

उनले उदास, हतास र निराशालाई चिर्नकै लागिपनि व्यवस्था परिवर्तन जरुरी भएको दाबी गरे । अध्यक्ष थापाले सम्पूर्ण हिन्दुवादी एक हुनुपर्ने वर्तमानको माग भएकाले वर्षायाम शुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातारण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘राप्रपा, नेपालले विगत केही वर्षदेखि अहिलेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्ने, सनतान हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना गर्ने र अहिलेको तीन तहको संघीय संरचनालाई परिमार्जन गरेर केन्द्र र स्थानीय तहको २ तहमात्र व्यवस्था गर्नुपर्छ भनेर आह्वान गरिराखेको छ । बेला बेलामा सडक संघर्ष पनि गरिरहेका छौं ।

विभिन्न दलहरु र समूहहरुले एक्ला एक्लै गरेको संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन गर्न नसकिने भएका कारण सबै एकजुट भएर अगाडि बढौं भनेर आह्वान गर्दै प्रयास गरिरहेका छौं । अहिले राजसंस्था पुनःस्थापना गर्छु भनेर लागेका सबै दल र समूहहरुको वैशाख १५ गते नै सन्देश दिइसकेका छौं ।
त्यो सन्देशलाई आत्मसात गर्दै अहिलेको व्यवस्थाबाट मुक्ति चाहने सबैको एउटा साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता छ ।






















