प्रतिगमनविरुद्व गणतन्त्रको पक्षमा दिल्लीमा अन्तरक्रिया

नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रतिगामी खतरा र गणतन्त्रको रक्षाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मे ४, २०२५ का दिन नयाँदिल्लीको राममोहन रायको सभाहलमा मूल प्रवाह केन्द्रीय समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रारम्भमा मूल प्रवाहका अध्यक्ष “नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न” विषयक अवधारणापत्र प्रस्तुत गरेका थिए । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी कार्यक्रमको प्रमुख अतिथि रहेका थिए ।

सो अवसरमा मन्तव्य राख्दै रेग्मीले नेपाल राजनीतिक दलले विगतमा जस्तै कमजोरी गर्दै जाने हो भने प्रतिगमन फर्किदैन भन्न नसकिने बताए । ‘राजनीतिक दलहरूले विगतमा जस्तै कमजोरी गर्दै जाने हो भने प्रतिगमन फर्किदैन भन्न सकिँदैन’ उनले भने – ‘त्यसका विरुद्धमा नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा एवम् भारत प्रवासमा मूल प्रवाहले गणतन्त्रवादी शक्तिलाई एउटै मञ्चमा आबद्ध गर्ने र विचारविमर्श गर्दै गणतन्त्रलाई बलियो बनाउने कार्यमा जोड दिएको छ ।’

राजनीतिक दलले व्यवस्था र सत्ताको चरम प्रकारको दुरुपयोगका कारण नै नेपाली जनतामा दलप्रतिको असन्तुष्टिलाई भजाएर प्रतिगामी तत्त्व सक्रिय भएको रेग्मीको थप भनाइ थियो । रेग्मीले मुलुकमा प्रतिगमनको खतरा रहेको र त्यसलाई परास्त गर्न सबै गणतन्त्रवादी शक्ति एकजुट भएर सङ्घर्ष अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा (माओवादी–केन्द्र) निकट नेपाली समाज भारत तथा दक्षिण एसियाका इन्चार्ज लक्ष्मण पन्तले प्रमुख राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनआकांक्षालाई सम्बोधन नगरे पुनरुत्थानवादी शक्ति वा अन्य कुनै निरङ्कुश शक्तिले विस्थापित गर्ने खतरा रहेको बताए ।

उनले नेपालमा राजतन्त्रको अन्त भएर गणतन्त्र आएता पनि राजनैतिक दलहरू आफैँ लोकतान्त्रिक बन्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
एमाले निकट प्रवासी नेपाली संघका सचिवालय सदस्य रामप्रसाद पराजुलीले गणतन्त्रका उपलब्धि गुम्न सक्ने खतरा यति चाँडो देख्नु उपयुक्त नहुने बताए ।

समाजसेवी प्रमोद खरेलले अन्तर्राष्ट्रिय समुदायले पनि नेपाली लोकतन्त्रको पक्षमा दृढ समर्थन जनाउनुपर्ने बताए । संविधानको मर्म र लोकतान्त्रिक मूल्यको संरक्षणका लागि सबै पक्षको संयम, संवाद र साझा प्रयासमा जोड दिनुपर्ने उहाँले जोड दिए ।

अखिल भारत नेपाली विद्यार्थी संघकी केन्द्रीय सचिव सरिता विसीले भारतमा नेपाली विद्यार्थीको अवस्था विगत केही समयदेखि बिग्रिँदै जानु देशका लागि चिन्ताको विषय भएको बताइन ।

एसयुसिआईका केन्द्रीय सदस्य प्राण शर्माले नेपालमा गणतन्त्र स्थापनाको पृष्ठभूमि, वर्तमान चुनौती र आगामी दिनमा त्यसलाई कसरी संस्थागत गर्ने भन्नेबारे आफ्नो पार्टीको दृष्टिकोण प्रस्तुत गरेका थिए । कार्यक्रममा विकल्प मञ्चका विक्रम प्रताप, सिपिआई (एमएल) का पिके शाहीले पनि मन्तव्य दिए  ।

मूल प्रवाहका केन्द्रीय सचिव कुलबहादुर बगाले, केन्द्रीय सदस्य विक्रमसिंह राणा, तारा सोमरे, नरबहादुर ओली, धनबहादुर गोर्खाली, केन्द्रीय सल्लाहकार विनबहादुर कुँवर, तिलक पाण्डे, जितमान थापा, रामबहादुर गौतम, अधिवक्ता नन्दा शर्मा, समाजसेवी घनश्याम शर्मालगायतको आतिथ्य रहेको थियो ।

केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरको सञ्चालनमा अघि बढेको कार्यक्रममा केन्द्रीय सदस्य शालिकराम आचार्यले धन्यवाद मन्तव्य राखेका थिए ।

सांस्कृतिक विभागका कलाकारले क्रान्तिकारी गीतसङ्गीत, नृत्यसमेत प्रस्तुत गरिएको सो कार्यक्रममा भारत र नेपालका प्राज्ञ, पत्रकार, राजनीतिक विश्लेषक र मानवअधिकारकर्मीको उपस्थिति रहेको थियो ।

वक्ताले उठाएका जिज्ञासाको बारेमा अवधारणा प्रस्तोता खनालले प्रष्ट्याएका थिए ।