रुपन्देहीको तिलोत्तमा नगरपालिका मानवमुक्त नगर घोषणा


बुटवल, बैशाख २३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको छ । मंगलबार विशेष कार्यक्रमको आयोजना गरी तिलोत्तमा नगरलाई सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको हो ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले घोषणा पत्र पढेर सुनाएर उक्त घोषणा पत्र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले तिलोत्तमा नगरपालिकाले मानवीय सेवा अन्तरगतको सबै भन्दा राम्रो र उत्कृष्ट काम गरेको उल्लेख गर्दै नगरपालिकालाई बधाई ज्ञापन गरे । मन्त्री तिमिल्सिनाले लुम्बिनी प्रदेशलाई सडक आश्रित मानवमुक्त प्रदेश बनाउने तयारी रहेको बताउंदै अब कुनैपनि मानिसलाई सडकमा बसेर दिन बिताउन नपर्ने गरी तीनै तहकार सरकारले मानवीय सेवामा काम गर्नुपर्ने बताए ।

तिलोत्तमाका नगर प्रमुख रामकृष्ण खांणले अब तिलोत्तममा कोही पनि बेसहारा, अनाथ र गरिब भएर सडकमा बस्न नपर्ने र त्यस्ता व्यक्तिहरुको उचित सम्मानका साथ व्यवस्थापन गर्ने बताए ।
नगर उपप्रमुख जगेश्वोर देवी चौधरीले तिलोत्तमालाइ हरेक हिसाबले अघि बढाउने र त्यसका लागि मानवीय क्षेत्रमा राम्रो काम गर्ने बताईन ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले मानवीय सेवामा सबै एकीकृत भएर लाग्नुपर्नेमा जोड दिए ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले २०८२ सालभित्र मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा गर्ने तयारी रहेको बताए ।
मानव सेवा आश्रम का लागि गत वर्ष तिलोत्तमा नगरपालिकाले पूर्वाधार विकास निर्माणका लागि ५० लाख सहयोग गरेको थियो ।























