सवारी दुर्घटनामा मृत्युको संख्या कमी, दुई हजार बढीलाई कारबाही


प्रचण्ड खत्री
रुकुम, बैशाख २४ गते । पछिल्लो नौ महिनाको अवधिमा पश्चिम रुकुममा ८० वटा सवारीसाधन दुर्घटनामा परेका छन । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म भएका विभिन्न दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटना परेर मृत्यु भएका पाँच जना पुरुष रहेका छन् । ट्राफिक प्रहरी कार्यालयका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्रप्रसाद भट्टले दुर्घटनाबाट ३८ जना गम्भीर घाइते हुँदा ९० जना सामान्य घाइते जानकारी दिनुभयो । यस अवधिमा ४१ वटा मोटरसाइकल, १३ वटा जिप तथा कार, १२ वटा अटो लगायत अन्य साना तथा ठूला सवारी साधन दुर्घटनामा परेको जानकारी गराए ।
प्रहरी वरिष्ठ नायब निरीक्षक भट्टका अनुसार दुर्घटनाको कारण मृत्यु हुनेको सङख्या गत आर्थिक वर्षभरिमा भन्दा यस अवधिमा कमै रहेको छ । चालु आर्थिक वर्षको हालसम्म ८० वटा सवारी साधन दुर्घटना हुँदा पाँच जनाको र गत आर्थिक वर्ष ०८०÷०८१ मा भएका ८० वटा दुर्घटनामा २३ को मृत्यु भएको तथ्यांक छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार कच्चि सडकमा क्षमता भन्दा बढी यात्रु बोक्ने, तिब्र गतिमा कुदाउने र भौगोलिक अवस्थाको कारण दुर्घटना हुने गरेको छ । सडक दुर्घटना कम गराउन नियमित चेकजाँचसँगै ट्राफिक सचेनाका कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको उनले जानकारी दिए ।
साढे दुई हजार बढीलाई कारबाही
जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म दुई हजार ६४९ साना तथा ठुला सवारी साधनलाई कारबाही गरेको जनाएको छ । जिल्लाका विभिन्न स्थानमा नियमित ट्राफिक चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङघन गर्ने सवारी साधनलाई कारबाही गरिएको हो ।
कारबाहीमा सबैभन्दा बढी मोटरसाइकल परेका छन् । कार्यालयका अनुसार एक हजार ३६६ मोटरसाइकल, ५१८ वटा जिप, कार तथा भ्यान, २६९ वटा टेम्पो, १९३ वटा ट्रयाक्टर, १६४ वटा बस तथा मिनिबस र १३९ वटा ट्रक तथा ट्याङकर कारबाहीमा परेका छन् ।
कारबाहीबाट हालसम्म २४ लाख ७३ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको छ । जसमध्ये मोटरसाइकलबाट मात्रै १४ लाख ४५ हजार पाँच सय, जिप, कार तथा भ्यानबाट चार लाख छ हजार, टेम्पोबाट दुई लाख १० हजार, बस तथा मिनिबसबाट एक लाख ४४ हजार, ट्रक तथा ट्याङकरबाट एक लाख ३६ हजार पाँच सय र ट्रयाक्टरबाट एक लाख ३१ हजार पाँच सय रुपियाँ राजस्व जम्मा गरिएको छ ।
गत आर्थिक वर्षमा भने पाँच हजार ६७५ सवारी साधन कारबाहीमा परेका थिए ।
जसबाट ४१ लाख ७१ हजार पाँच सय रुपियाँ राजस्व सङकलन भएको थियो ।























