भारत–पाकिस्ताको युद्धप्रति सचेत रहन मुल प्रवाह एकता समाजको आग्रह

नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले भारत–पाकिस्तानवीच भइरहेको युद्धप्रति सचेत र सुरक्षित रहन भारतस्थित नेपालीलाई आग्रह गरका छन् । अध्यक्ष खनालले विज्ञप्ती जारी गरी समाजले युद्धका कारण उत्पन्न परिस्थितिको सन्दर्भमा सुरक्षा निकायले जारी गरेको सुरक्षासम्बन्धी निर्देशन पालना गर्न सुझाव दिएका छन् ।

अध्यक्ष ठाकुर खनालको हस्ताक्षरमा मे ९, २०२५ राति वक्तव्य जारी गर्दै मूल प्रवाहले यस्तो आग्रह गरेको हो । समाजले युद्धका कारण उत्पन्न परिस्थितिको सन्दर्भमा सुरक्षा निकायले जारी गरेको सुरक्षासम्बन्धी निर्देशन पालना गर्न तथा सामाजिक सञ्जालमा अस्वाभाविक पोस्ट नराख्न पनि अनुरोध गरिएको छ ।

विज्ञप्तीको पूर्णपाठ

“भारतको जम्मुकस्मिर राज्यको पहलगाममा भएको आतङ्कवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन एवम् सङ्कटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न भारतस्थित नेपाली जनसमुदायलाई अपिल गर्दछौँ साथै सामाजिक सञ्जालमा अनावश्यक पोस्ट† जस्तै ः उत्तेजित एवम् साम्प्रदायिक प्रकारका पोस्ट गर्न र बहस आदि नगर्न र यात्रा गर्दा परिचय खुल्ने दस्तावेज लिएर मात्र यात्रा गर्न अनुरोध गर्दछौँ ।

भारतमा बस्ने खासगरी सीमाक्षेत्रका प्रवासी नेपालीहरूको सुरक्षा वा सुरक्षित स्वदेश फिर्ताको वातावरण मिलाउन नेपाल सरकारसँग मागसमेत गर्दछौँ ।

हामी पहलगामको घटनाको तीव्र शब्दमा विरोध र भत्र्सना गर्दछौँ । पहलगाम हत्याकाण्डका अपराधीलाई पत्ता लगाएर उनीहरूलाई दण्डित गरिनुपर्नेमा हामीले जोड दिन्छौँ । त्यो आतङ्कवादी घटना हो र अहिले भारतद्वारा त्यसका विरुद्ध भएको कारबाहीबाट कैयौँ निर्दोष महिला, बालबालिका र जनताको हत्या भएको छ । निर्दोष जनताको हत्या हुने गरी गरिएको उक्त कारबाहीलाई न्यायसङ्गत मान्न सकिन्न ।

भारत र पाकिस्तान दुवै आणविक शक्तिसम्पन्न राष्ट्र हुन् र उनीहरूका बिचको युद्धमा आणविक अस्त्रको प्रयोग भएमा त्यसले मानव जातिलाई विनाशको बाटोमा लैजानेछ । त्यस प्रकारको परिस्थिति आउन नदिन आपसी मतभेद र विवादका विषयलाई दुबै देशले परस्परमा छलफल गरेर टुङ्ग्याउनुपर्दछ र त्यसका लागि हामीले संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समेत ध्यानाकर्षित गर्न चाहन्छौँ ।”