पश्चिम नवलपरासीलाई पूर्णखोप सुनिश्चित र दिगोपना घोषणा


श्यामलाल पोखरेल
बुटवल, जेठ १० गते । पश्चिम नवलपरासी जिल्लालाई लुम्बिनी प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणका लागि मापदण्ड पुरा गरेपछि घोषणा गरिएको हो ।

नेपाल सरकारले प्रदान गरेका सबै खोपहरु जिल्लाका १५ महिना मुनिका सबै बालवालिकाहरुलाई लगाएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका खोप अधिकृत भेषराज शर्माले जानकारी गराए । 
हालसम्म १५ महिना मुनिका खोप प्राप्त गरिरहेका बालबालिका ६ हजार ४ सय ५७ जना रहेको स्वास्थ्य कार्यालय नवलपरासीले बताएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार १६ महिनादेखि ५९ महिनासम्मका पूर्णखोप प्राप्त गरिसकेका १८ हजार ४ सय ५९ जजा बालवालिका छन् ।
स्वास्थ्य कार्यालय नवलपरासीका कार्यालय प्रमुख अंगतबहादुर शाहीले यस आर्थिक वर्षमा खोप लगाउन छुटेका १ सय ७३ जना बालवालिकालाई पनि खोप दिएपछि जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपनामा घोषणा गर्न सफल भएको बताए । 

पश्चिम नवलपरासीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नका लागि गत माघ महिनादेखि कार्यक्रम सञ्चालन गरिएको खोप अधिकृत भेषराज शर्माले जानकारी गराए । खोप अधिकृत शर्माका अनुसार २०८१ को माघ महिनादेखि घरभेट अभियान सञ्चालन गरिएको थियो । घरभेट अभियानमा ३ सय ५८ जना महिला स्वंसेवीका, १ सय ६० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
सोही कामको अनुगमनका लागि ७६ जना स्वास्थ्य इन्चार्जहरु खटाईएको थियो । त्यस्तै ७ वटा पालिकाका ७ जना स्वास्थ्य शाखा प्रमुख, जिल्ला समन्वय समिति र पालिका स्तरीय खोप समिति र स्वास्थ्य कार्यालय नवलपरासी, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी, डब्ल एचओ र संघसंस्थाको प्रतिनिधिहरुको टोलीले सर्वे गरेको थियो ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाका लागि आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सबै नागरि।कलाई स्वास्थ्य सेवाको पहुंचमा पुराउनु पर्ने बताए । उनले पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेर पश्चिम नवलपरासीले समग्र देशका लागि सकरात्मक सन्देश दिएको बताए । 
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव रुदलको अध्यक्षता र खोप अधिकृत भेषराज शर्माको सञ्चालनमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री खड्ग बस्नेत, लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गालक्ष्मी श्रेष्ठ, निर्देशक रोशनलाल चौधरी, लुम्बिनी, रामग्राम नगरप्रमुख धनपति यादव, उपप्रमुख सम्झना चौधरी, प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, कांग्रेस कार्यवाहक सभापति विक्रम यादव, स्वास्थ्य स्वयंसेविका सञ्जालकी केन्द्रीय सदस्य सरस्वती सुवेदी लगायतले आआफ्ना भानइ राखेका थिए ।






















