महरा काण्डकी रोशनी शाही मृत फेला

बुटवल, जेठ १२ गते । माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा काण्डमा जोडिएकी महिला रोशनी शाही मृत फेला परेकी छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा शाही मृत अवस्थामा फेला परेकी प्रहरीले बताएको छ ।

बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने ५० वर्षिया शाही मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । शाही पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोप प्रकरणकी पीडित हुन् । पछि अदालतबाट महराले यसमा सफाइ पाइसकेका छन् ।

आइतबार दिउँसो कोठाभित्रै मृत अवस्थामा शाही फेला परेकी जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको थियो । स्थायी घर जाजरकोट भएकी शाहीले घटनास्थलमा सुसाइड नोट पनि फेला परेकोसमेत प्रहरीले बताएको छ।