समाजवादका लागि नयां छलफल – विप्लव


बुटवल, जेठ १५ गते । नेकपाका महासचिव नत्रेविक्रम चन्द विप्लव सीले समाजवादका लागि नयां छलफल चलाउनु पर्ने बताएका छन् । देशमा कस्तो खालको समाजवाद स्थापना गर्ने, कम्युनिष्टले भने जस्तो वा विपीको समाजवाद जस्तो वा जनताले चाहेजस्तो समाजवादी वयवस्था कायम गर्ने भन्ने विषयमा नयां बहस चलाउनु पर्ने तर्क गरे । 

जनपत्रकार संगठन नेपाल र जनगर्जन मिडिया प्रालिले बिहीबार बुटवलमा आयोजना गरेको गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्णसेन इच्छुकको भूमिका विषयक अन्तरक्रियामा बोल्दै नेपाली जनताको आकांक्षा समाजवाद हो भने । महासचिव विप्लवले कम्युनिष्टहरु गैरकम्युनिष्ट जस्तै भएपछि समाजवाद ओझेलमा परेको बताए ।
उनले गणतन्त्रप्रति गौरव रहेको बताउंदै गणतन्त्र आएपछि धेरै राम्राकामहरु प्राप्त गरेका छौ, राजनीतिक क्षेत्रमा गणतन्त्र नयां उपलब्धी हो भने । हजारौ हजारले रगत बगाएपछि गणतन्त्र आएको उल्लेख गर्दै उनले भने – जनयुद्व र जनआन्दोलन नभएको भए गणतन्त्र आउने थिएन । निकै ठूलो त्यागले गणतन्त्र आएको हो । उनले गणतन्त्रको रक्षा गरी अघि बढ्नुपर्ने बताउंदै गणतन्त्र ल्याउनमा शहीद कृष्णसेन इच्छुकको ठूलो योगदान रहेको चर्चा गर्दै कृष्णसेनका अधुरा सपमना पुरा गर्नुपर्ने बताए । क्रान्ति र परिवर्तनका लागि दिलो ज्यान दिनुभएका कृष्णसेन इच्छुक एक निष्ठावान, विश्वासिलो व्यक्ति भएको बताउंदै श्रदाञ्जली अपर्ण गरे ।

अहिलेको राज्य प्रणालिबाट कोही नेपाली खुशी नरहेको बताउंदै यो व्यवस्था जनताको अपेक्षा अनुसार नचलेपछि जनतामा निरासा छाएको बताए । गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउंदै गणतन्त्रमा सही ढंगले काम नभएको र भ्रष्टाचार, बेथिति बढेकाले जनताले विकल्प खोजेपनि गाणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताए ।
उनले पुरानो राजनीतिक र आर्थिक संरचना भत्किएको र जनतालाई नयां आधार दिन नसकिएकाले जनता यो राज्य व्यवस्थाप्रति असन्तुष्ट रहेको दावी गरे । अहिलेको दलाल पूंजीवादले जनतालाई सन्तुष्ट बनाउन नसकेको उल्लेख गर्दै सामन्तवादको समुलनष्ट गर्न नसक्नु अहिलेको व्यवस्थाको खराव पक्ष हो भने । महासचिव विप्लवले गणतन्त्रमा भ्रष्टाचार बढेको र जनताले चाहेजस्तो राज्यले सेवा दिन नसकेको बताउंदै स्वास्थ्य, शिक्षा, रोजगारलगायत सबै क्षेत्रमा समस्या देखिएको बताउंदै उनले भने – राज्य सञ्चालकहरुले भने जस्तो केही भएको छैन ।
युद्व छाडेर माओवादी काठमाण्डौ गएपछि बिग्रेको बताउंदै पुराना पार्टीहरुको पश्चगामी सोंचले मुलुक बन्न नसक्ने बताए ।
समय अनुसार कम्युनिष्ट पार्टी चल्नुपर्ने र पुरानै पाराले अब पार्टी चल्न नसक्ने बताउंदै भने – पुराना पार्टीहरु अब रुपान्त्रण हुन जरी छ । समाजवादी मोर्चाका अध्यक्षसमेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द सीले एक पटक जनातको सेवा गर्ने चाहाना रहेको बताए ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले देशलाई संकट पर्दा पत्रकार चाहिने गरेको बताउंदै गणतन्त्र नेपाल पत्रकार महासंघको पूंजी भएकाले गणतन्त्रलाई दीगो बनाउनु पर्नेमा जोड दिए । कृष्णसेन इच्छुकले देखाएको बाटोलाई आत्मसाथ गर्नुपर्ने बताए ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य पे्रम सुवेदीले पुराना र पश्चगामी सोंच चिन्तनले गणतन्त्रलाई अगाडी बढाउन नसक्ने बताए ।
नेकपा माओवादी केन्द्रका नेता बामदेव क्षेत्रीले देशलाई अगाडी बढाउन दलाल पंूजीवाद बाधक रहेको बताउंदै नेपालको लागि कस्तो खालको समाजवाद चाहिने भन्नेबारे कसैले खाका तयार गर्न नसकेकाले छलफल चलाउनु पर्नेमा जोड दिए । कृष्णसेन इच्छुकलाई नेपाली सेनाले अमानवीय ढंगले हत्या गरेको स्मरण गर्दै कृष्णसेन निष्ठावान भएको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने बताउंदै जनतालाई सीप र उत्पादनसंग जोड्ने गरी बुटवल उपमहानगरपालिकाले काम गरिरहेको छ भने । 
प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले हिजो गणतन्त्र ल्याउन लडेकाहरुको गलत कामका कारण राजावादीहरुले गणतन्त्रको विकल्प खोजेको बताए । सत्तामा रहेका दलका नेताहरु भ्रष्टचारमा लिप्त रहेको र जनताको चाहाना अनुसार काम गर्न नसक्दा गणतन्त्रमाथि प्रश्न चिन्ह खडा भएको बताउंदै गणतन्त्रको विकल्प अर्को कुनै व्यवस्था हुन नसक्ने बताए । कृष्णसेन इच्छुकको लक्ष्य उद्वेश्य नौलोजनावादी क्रान्ति हुंदै समाजवादी व्यवस्थाबाट साम्यवादी व्यवस्था कायम गर्नु भएकाले इच्छुककका अधुरा सपना पुरा गर्न जनपक्षीय पत्रकारिता आवश्यक छ भने ।
कार्यक्रममा नेकपाका पोलिटव्यूरो सदस्य बसन्त सी, लेखक तथा साहित्यकार दिलसाहानी, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेय, वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाई, घनश्याम पाठक, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार यानेनद्र जीसी र दीपक विश्वकर्मा, शिव डुम्रे लगायतले बोल्दै गणतन्त्रको दिगो विकासका लागि जनपक्षीय पत्रकारिता आवश्यक रहेको बताए ।
शहीद कृष्णसेन इच्छुकप्रति श्रदासुमन अर्पण गर्दै उनीहरुले कृष्णसेन इच्छुकले देखाएको बाटोबाट उन्नत प्रकारको नगणतन्त्र स्थापना गर्नुपर्ने र त्यसका लागि जनपक्षीय पत्रकारिता आवश्यक रहेको बताए ।
प्रकाश डुम्रेको अध्यक्षता र विनोद खनालको सञ्चालनमा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा इच्छुक पत्रकारिता पुरस्कारबाट पत्रकार यानेन्द्र जीसी, र दीपक विश्वकर्मालाई सम्मान गरिएको छ ।






















