भिजिट भिसा प्रकरणः गृहमन्त्रीको राजीनामा नआएसम्म आफ्नो आन्दोलन जारी


काठमाडौं। नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफ्नो आन्दोलन जारी रहने बताएको छ।

शुक्रबार सभामुख देवराज घिमिरेको नेतृत्वमा सिंहदरबारमा बसेको मुख्य सचेतक र प्रमुख सचेतकहरुसँगको छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका हुन्। उनले देश, जनता, जिम्मेवारीबोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीबार संसदमा बजेट प्रस्तुत गर्न दिएको स्पष्ट पारे।
पाण्डेले भिजिट भिसा प्रकरण बद्मासीु र राजनीतिक रुपमा मानव तस्करीसँग जोडिएको विषयवस्तु रहेको बताए । उनले उक्त भ्रष्टाचारसँग सम्बन्धित प्रकरणलाई सच्याउन (करेक्सन) नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने जिकिर गरे। हाम्रो आन्दोलनको हिजो लागि मात्रै देश, जनता, जिम्मेवारी बोध, हाम्रो संविधान, अहिलेको हाम्रो अवस्था, बाहिर भइरहेका व्यवस्थाविरुद्धका बारेका विभिन्न क्रियाकलापलाई सम्झिएर संविधानको कार्यान्वयन र बजेटलाई लैजानको लागि दिएका हौँ, उनले भने, हामीले १५ गतेका तीन वटा कार्यक्रमका लागि मात्रै संसद्लाई अगाडि बढाउन दिएका हौँ। त्यसपछि हाम्रो आन्दोलन यथावत् छ।

उनले यो विषयवस्तु भ्रष्टाचारसँग सम्बन्धित भएकाले यसलाई समाधान नगरी आफूहरु आफ्नो ठाउँमा जान नसक्ने बताए। हाम्रो आन्दोलन जारी छ, हामी त्यो विषयवस्तु संसद्मा उठाउँछौँ। त्यसको हल गर्ने कुरा सरकारको हो, पाण्डेले थपे।
भिजिट भिसामा विदेश जानेहरुसँग लाखौँ असुली गरेको प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दलहरुले उनको राजीनामाको माग गर्दै आएका छन्।






















