एमालेको ‘झोले’ अभियानः मार्क्स लेनिन भन्दा मोदीको ‘चौकीदार’ महान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि एउटा अनौठो एवं विवादास्पद अभियानको थालनी गरेका छन्– ‘म झोले हुँ’ भन्ने अभियान । ओलीको यो अभियान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘म चौकीदार हुँ’ भन्ने अभियानको ठ्याक्कै फोटोकपी जस्तै देखिएको छ ।

सोमबार दिनभरि सामाजिक सञ्जालमा एमाले नेताहरुले ‘म झोले हुँ’ भन्दै एकपछि अर्को तस्बिर पोस्ट गरिरहेका छन् । उता, नागरिक तहबाट भने एमाले नेताहरुमाथि आलोचनाको वर्षा भइरहेको छ ।

नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व सम्हालेको यो तेस्रो कार्यकाल हो । यसअघि उनी २०७२ को भारतीय नाकाबन्दीको समय र २०७४ को निर्वाचनपछि दुई पटक प्रधानमन्त्री भइसकेका छन् । तुलनात्मक रुपमा उनको पहिलो र दोस्रो कार्यकालमा केही सम्झनलायक काम भए । पहिलो कार्यकालमा भारतीय नाकाबन्दीको प्रतिरोध गर्न उनको योगदान स्मरणीय छ ।

दोस्रो कार्यकालमा उनले थालेका कयौँ विकासका आयोजनाले अहिले पूर्णता पाइरहेका छन् । तर, पहिलो र दोस्रो कार्यकालमा लोकप्रियताको उचाइ समेतका ओली तेस्रो कार्यकालमा आलोचनाको घेरामा छन् ।

२०८१ असार १७ गते रामेश्वर थापाको घरमा कांग्रेससँग ७ बुँदे सहमति गरेर असार ३१ गते तेस्रो पटक शक्तिशाली सरकारको बागडोर सम्हालेका ओली कहिले काठमाडौंका मेयर बालेन्द्र साहसँग जुध्छन् त कहिले राष्ट्रिय स्वतन्त्र पार्टी र राजावादीसँग पौँठैजोरी खेलिरहन्छन् ।

खासगरी बालेन्द्रसँगको शीतयुद्ध र रास्वपा सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा राजनीतिक प्रतिशोध साँधेको आरोपबीच नयाँ दलका कार्यकर्ताले एमाले र कांग्रेस दुवैका नेता कार्यकर्तामाथि ‘झोले’ ट्याग भिराइदिएका छन् ।

कांग्रेस नेता कार्यकर्तालाई पनि सर्वसाधारण र खासगरी नयाँ डिजिटल पुस्ताकाहरुले ‘झोले’ भन्न छाड्दैनन् । तर कांग्रेसको पंक्ति तुलनात्मक रुपमा शान्त देखिँदैन। नेतृत्वले पनि प्रतिकारमा उत्रिनु भनेको सुनिँदैन ।

यता सत्ताको नेतृत्व गरेको एक वर्ष पुग्न लाग्दा पनि परिणाममुखी काम गर्न नसकेका प्रधानमन्त्री ओलीलाई ‘झोले’शब्दले भाउन्न हुने गरेको छ । त्यही कुराको पुष्टि ओली र उनको सचिवालयले सोमबार पुष्टि गरेको छ ।

सोमबार सबैभन्दा पहिले ओलीले एउटा तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे। ‘एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौं गुणा उत्तम चरित्र हो, लेखिएको उक्त तस्बिर केहीबेरमै भाइरल भयो ।

प्रधानमन्त्री ओलीले आफू ‘झोले’ भएको उल्लेख गर्दै फेसबुकमार्फत् ‘झोले’ भनेर लखेट्दैमा सत्य अँगाल्न नछोड्न आग्रह पनि गरे । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्ने उनको तर्क छ ।

‘हिजोआज एउटालाई भगवान बनाउनु पर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ, स्टाटसमा भनिएको छ, ‘भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ ।

त्यसपछि उनकै प्रमुख सल्लाहकारण विष्णु रिमाल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेलले समेत ओलीकै जस्तो तस्बिर बनाएर पोस्ट गरे । उपमहासचिव प्रदीप ज्ञवालीले पनि केही घण्टापछि झोले शब्दसहितको तस्बिरले आफ्नो फेसबुक वाल रंग्याए । ज्ञवाली एमालेमा वैचारिक र अध्ययनशील नेता मानिए पनि ओलीको अनुयायीका रुपमा उनले त्यसो गर्नुलाई अन्यथा मान्न सकिँदैन ।

‘भनिन्छ, जहाँ तर्क सकिन्छ, त्यहीँबाट गाली गलौज शुरु हुन्छ । अचेल सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको एउटा जमात इमान, निष्ठा र जनसेवाको राजनीति गरिरहेको पार्टी पङ्क्तिलाई निरुत्साहित गर्न गालीगलौजको अभियान नै चलाइरहेको छ, उनले भनेका छन्, ‘वंशवाद र जन्मजात श्रेष्ठताको सामन्ती मान्यता बोक्ने रैती बन्नुमा गर्व गर्ने तर प्रतिष्पर्धात्मक लोकतन्त्रका पक्षधरहरुलाई चाहिँ ‘झोले’ भन्दै खिसिट्युरी गर्ने उनीहरु चाहन्छन् । राजनीतिक कार्यकर्ताहरु, कुनै नेतालाई मन पराउने कलाकारहरु या नागरिकहरु ‘सेल्फ सेन्सर्ड’ बनून् र बोल्न छाडून् ।

हुन त ओली नेतृत्वको सरकारले विकासको गतिलाई पनि तीव्रता दिइरहेको बताइरहेको छ। तर दुईतिहाइको शक्तिशाली सरकार विकास खर्च गर्ने मामिलामा कमजोर देखिएको छ । जेठ लाग्दासम्म चालु आर्थिक वर्षको ३५ प्रतिशत मात्रै विकास खर्च गरेको यो सरकारले पहिले जस्तै यस पटक पनि असारे विकासमा पैसाको खोलो बगाउने निश्चित छ ।

अर्कातिर बलियो सरकार भए पनि देशभित्रै रोजगारी सिर्जनमा असफल भएको आरोप पनि यो सरकारमाथि छ । त्यससँगै विभिन्न विवाद र काण्डमा मुछिएका व्यक्तिहरुलाई संरक्षण गरेको आरोप पनि ओली सरकारको शीरमा छ । पछिल्लो पटक भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ‌ओलीले काँध थापिरहेको दृश्यल आश्चर्य लाग्दो ।

कतिसम्म भने कुनै बेला कांग्रेस प्रतिपक्षमा हुँदा प्रमुख सचेतक बनेका लेखक आफैं प्रश्न उठेपछि मन्त्रीले राजीनामा दिनुपर्ने कुरा संसद्मै राख्थे । तर आज उनैमाथि प्रश्न उठ्दा उनी राजीनामाको साटो आफूमाथि छानबिन गरिरहेका डीआईजीलाई दिउँसो सरुवा गरेर आलोचना भएपछि साँझमा अख्तियारमै दरबन्दी थमौती गर्न पनि बाँकी राख्दैनन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै बेला भनेअनुसार नै ज्यान मुद्दाका दोषी मोहम्मत अफताव आलम जेलबाट रिहा भइसकेका छन् । देउवाले आलमलाई छुटाउन प्रयास भइरहेको भनेर दिएको अभिव्यक्ति केही वर्ष पनि पुरानो भएको छैन् ।

सम्पत्ति शुद्धीकरणको सवालमा ग्रे लिस्टमा परेको नेपालले भ्रष्टाचार नियन्त्रणमा चासो नदिए कालोसूचीमै पर्ने जोखिम छ । तर सरकार भने प्रश्न उठेकाहरुमाथि छानबिन गर्नको साटो जोगाउन लागेपछि आलोचनाको स्वर झन बढ्दै गएको छ ।