संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आज (बुधबार) बस्दैछ। गत जेठ १५ गतेदेखि नियमित रूपमा बस्न नसकेको प्रतिनिधिसभाको बैठक हिजो (मंगलबार) पनि बस्न नसकेपछि आज दिउँसो १ बजेका लागि तय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेले गरेको पहलहरू विफल भएपछि बैठक पटक(पटक सरेको थियो। दलहरूबीच सहमति जुट्न नसक्दा हिजोको बैठक अन्ततः बस्दै नबसी स्थगित भएको थियो, जसलाई आजका लागि सारिएको हो।

भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने एक सूत्रीय मागमा विपक्षी दलहरू अडिग रहेका छन्। हिजो मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा बसेको विपक्षी दलको बैठकले छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

विपक्षीको स्पष्ट अडानपछि पनि सभामुखले विपक्षी र सत्तारुढ दलका प्रमुख सचेतकहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने असफल प्रयास गरेका थिए।
यसैबीच प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्नेछ। आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ुआर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यक्रम छ।

राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले “राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्” भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ। विपक्षी दलहरूको अडानका कारण आजको संसद बैठक पनि सहज रूपमा सञ्चालन हुन सक्छ वा सक्दैन भन्नेमा चासो बढेको छ।