बुटवलमा लालपूर्जा नभएका जग्गाको नापजांच शुरु, साउन भित्र पूर्जा दिने तयारी

श्यामलाल पोखरेल
बुटवल, जेठ २२ गते । बुटवलमा लालपूर्जा नभएका जग्गाहरुको क्षेत्रफल नांपजांच शुरु गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १२ र १३ मा रहेका लालपूजा नभएका जग्गाहरुको नांपजांच शुरु भैरहेको छ । बुटवल उपमहानगरपालिकाको प्राविधिक सहयोग र भूमि समस्या समाधान आयोग रुपन्देहीको समन्वयमा लालपूर्जा दिनका लागि जग्गा नांपजांच शुरु गरिएको हो ।

लालपूर्जा नभएका जग्गाहरुको क्षेत्रफल नापेर सबै काुननी प्रक्रिया पुरा गरेर लालपूर्जा दिनका लागि बुटवल उपमहानगरपालिका र भूमि समस्या समाधान आयोगले काम गरिरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मिसन टुडेलाई बताए ।

बुटवल उपमहानागरपालिकाका प्रमुख खेलराज पाण्डेयका अनुसार बुटवलका वडा नम्बर १२ दुर्गानगर र वडा नम्बर १३ को तारा टोलमा नापजाँच नभएका जग्गाहरुको नापजाँचका लागि बुटवल उपमहानगरपालिकाबाट प्राविधिक टोली खटाइएको र साउनभित्रै लालपूर्जा वितरण गर्ने गरी नापजाँच शुरु गरिएको हो ।

बुटवल ११ मजुवाका ५ वटा टोलमा १ हजार ७ सय ५० घरघडेरीको नापजाँच गरिएको छ । त्यस्तै बुटवल ११ प्रगतिनगरमा १ हजार ७ सय ५२, बुटवल २ पाखापानी, मनकामना टोल, सिर्जनानगरमा ९ सय ५०, बुटवल १४ कैलाशनगर ६५ वटा, बुटवल १४ विनायकपूर एक सय जति घरघडेरीको नापजाँच गरिएकोसमेत नगर प्रमुख पाण्डेयले जानकारी गराए ।

भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले बुटवल उपमहानगरपालिकाको सक्रियताका कारण लालपूर्जा नभएका जग्गाहरको षेत्रफल नांपजांच गर्न सजिलो भएको बताए । छिट्टै प्रकृया पुरा गरेर लालपूर्जा दिने गरी काम गरिएको आयोग रुपन्देही अध्यक्ष कुमार थापाले बताए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष डिल्लीप्रसाद शर्मा उपाध्यायले लालपूर्जा नभएका जग्गाहरुको नापजाँचमा वडा कार्यालयको सहयोगमा विवादरहित काम भैरहेको बताए । बुटवल १३ का अध्यक्ष नारायणप्रसाद पुनले लालपूर्जा नपाएका घरधनीहरुलाई पूर्जा दिने गरी शुरु भएको काममा सबैले साथ दिएको बताए ।

बुटवल उपमहानगरपालिका नापी शाखाका त्रिदेव बुढाथोकीले लालपूर्जा नभएका जग्गाहरुको डिजिटल प्रविधिबाट नापी गरिएकाले कुनै समस्या नहुने र कसैलाई अन्याय पनि नहुने बताए । अहिले अव्यवस्थित बसोवास भएको ठाउंको जग्गा नांपजांच गर्न थालिएको हो ।