पतञ्जलि जग्गा घोटाला प्रकरणः रामदेव र बालकृष्णलाई मुद्दा चलाउन अख्तियार डरायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जनाविरुद्ध विशेष अदालतमा विहीबार मुद्दा दायर गरेको छ । ६३२ पृष्ठ लामो बडेमानको फायल अदालतमा पुग्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाउनुपर्ने दुईजना भारतीय जोगीको नाम भने छुटाएको छ । अख्तियारले मुद्दा चलाउन डराएका ती दुई भारतीय हुन्– स्वामी रामदेव र आचार्य बालकृष्ण ।

पतञ्जली योग पीठका नाममा भ्रष्ट कर्मचारी र मन्त्रीहरुलाई प्रभावमा पारेर नेपालका विभिन्न १० वटा जिल्लामा हदभन्दा बढी जग्गा किन्ने र फेरि मन्त्रालयमा निवेदन दिएर जग्गा बेच्ने गिरोहका मुख्य व्यक्तिहरुको सूचीमा स्वामी रामदेव र बालकृष्णको नाम अग्र पंक्तिमा देखिएको छ । तर, अख्तियारले उनीहरु दुबै जनालाई प्रतिवादी बनाएको छैन ।

पतञ्जलि योगपीठका नाममा हदभन्दा बढी जग्गा खरीद–विक्री गरेर भ्रष्टाचार गरिएको भन्दै अख्तियारले दायर गरेको मुद्दामा कम्पनीका सदस्य शालीग्राम सिंहलाई प्रतिवादी बनाइँदा कम्पनीका अध्यक्ष र संरक्षकलाई भने प्रतिवादी बनाइएको छैन । जबकि नेपालमा दर्ता भएको उक्त कम्पनीको संरक्षकमा रामदेव छन् भने अध्यक्षमा आचार्य बालकृष्ण रहेका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा रहेको रेकर्ड अनुसार ०६४ असोज २० गते ‘पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल’ नाम गरेको कम्पनी दर्ता भयो । कम्पनीको दर्ता नं ८४र०६४र०६५ रहेको छ । कम्पनीको स्थायी लेखा ९प्यान० नम्बर ३०२७५२७९५ रहेको छ ।

नेपालको सरकारी कार्यलयमा दर्ता भएको कम्पनीको संरक्षकमा स्वामी रामदेव रहेका छन् । उनको ठेगानामा भनिएको छ– ‘स्वामी रामदेव, शिष्य स्वामी शंकरदेव, पतञ्जलि योगपीठ, बहादराबाद, हरिद्वार, भारत ।

त्यसैगरी, नेपालमा दर्ता भएको कम्पनीको अध्यक्षमा पनि भारतीय नागरिक नै रहेका छन् । अध्यक्षको नाम ठेगानामा भनिएको छ– स्वामी बालकृष्ण, शिष्य स्वामी शंकरदेव, पतञ्जलि योगपीठ, बहादराबाद, हरिद्वार, भारत ।

नेपालमा जग्गा खरीद गर्ने प्रयोजनका लागि खोलिएको कम्पनीको सदस्य पनि भारतीय नागरिक नै छन्, जसको नाम हो– महन्त राजेन्द्र दास (शिष्य, महन्त गोपालदास) । उनको ठेगाना रहेको छ,‘पञ्चायती अखाडा, उदासीन, हरिद्वार भारत । कम्पनी रजिष्ट्रारको कार्यालयमा सदस्य राजेन्द्र दासको भने पासपोर्ट नम्बर उल्लेख छैन ।

नेपालमा दर्ता भएको कम्पनीको चौथो सदस्य पनि भारतीय नागरिक नै छन् । उनी हुन् राजेन्द्र सिंह । उनको ठेगाना रहेको छ, वेद भवन वार्ड नम्बर १३ भारतीय । कम्पनीका पाँचजना सदस्यमध्ये एकजनासँग मात्रै नेपाली नागरिकता छ । उनी हुन्, शालीग्राम सिंह । उनको ठेगाना काठमाडौं–७ सिफल देखाइएको छ ।

अख्तियारले कम्पनीका ५ जनामध्ये एकजना शालीग्रामलाई मात्रै प्रतिवादी बनाएको छ । विदेशी नागरिक भएकाले उनीहरुलाई प्रतिवादी नबनाइएको हो कि ? यो प्रश्नमा कानूनविदहरु भन्छन्, नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा संरक्षक, अध्यक्ष र सदस्य भनेर नाम दर्ता गर्न मिल्ने, जग्गा घोटालामा मुद्दा चलाउन नमिल्ने कसरी भन्न सकिन्छ ?

१० जिल्लामा जग्गा घोटाला
रामदेव र बालकृष्णको नेतृत्वमा रहेको कम्पनीले जडिबुटीको उत्पादन र वितरण गर्ने देखि लिएर १२ वर्षसम्मका वालवालिकालाई शिक्षा दिने भन्दै कम्पनी दर्ता गराएको थियो । यसका लागि देशका विभिन्न ठाउँमा हजारौं विघा जमिन चाहिने भन्दै उसले हदभन्दा बढी जग्गा खरिद गर्न पाउँ भनेर भूमिसुधार मन्त्रालयमा निवेदन दिएको थियो ।

सरकारी तथ्यांक हेर्दा पतञ्जलि योग पीठ तथा आयुर्वेद कम्पनी नेपालका नाममा काभ्रे जिल्लाका विभिन्न पालिकामा मात्र होइन, तराई र पहाडका विभिन्न जिल्लामा हदभन्दा बढी जमिन रहेको र मन्त्रिपरिषदबाट निर्णय गराएर किनबेच गर्ने गरिएको पाइएको छ ।