नेपालमा मनसुनजन्य विपद्को बढ्दो जोखिम


काठमाडौँ। नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरु तीव्र रुपमा बढेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य विपद्का घटनामा परी २ हजार ३१७ जनाले ज्यान गुमाएका छन्। यस अवधिमा बाढी, डुबान, भूक्षय, भारी वर्षा, चट्याङ र आकस्मिक बाढीका कारण ८ हजार ४१८ विपद्का घटना भएका छन्, जसबाट ५६ हजार ७०५ परिवार प्रभावित भएका छन्।

२०८१ सालको मनसुनजन्य विपद्का घटनाबाट मात्रै ४९५ जनाले ज्यान गुमाएका थिए, जसमध्ये पहिरोमा परी ३४४ जनाको मृत्यु भएको थियो। तथ्याङ्क विश्लेषण गर्दा, १० वर्षको अवधिमा पहिरोका कारण १ हजार २९६ जनाको ज्यान गएको देखिएको छ, जुन बाढी ५३९ जना र चट्याङ ३८५ जना भन्दा बढी हो। यस अवधिमा पहिरोका ३ हजार ५३२ घटना भएका छन्, जसबाट १ हजार १३६ जना घाइते भएका छन्।
भू गर्भविद् डा. सुबोध ढकालले बाढी पूर्वानुमान प्रणालीमा सुधार भए पनि पहिरोको पूर्वानुमान अझै चुनौतीपूर्ण रहेको र त्यसैले यसबाट हुने मानवीय क्षति बढी भएको बताए। पहिला बाढीका कारण धेरै मानिसको ज्यान जान्थ्यो, तर अहिले पूर्वानुमान प्रणालीको सुधारले जनधनको क्षति घटेको छ, उनले भने, तर पहिरोका विषयमा पूर्वसूचना प्रणालीको विकास भएको छैन। अझै पनि पहिरो पूर्वानुमान गर्न गाह्रो छ।

डा. ढकालका अनुसार, पहाडका धेरै बस्ती पुराना पहिरो गएका जमिन क्षेत्रमै बसेकाले जोखिम बढिरहेको छ। यस्तै, सडक तथा अन्य पूर्वाधार निर्माणका क्रममा वैज्ञानिक विधि नअपनाउँदा र भू(उपयोग नीति व्यवस्थित नहुँदा पनि जोखिम थप बढिरहेको उनको भनाइ छ। उनले दीर्घकालीन सोच, वैज्ञानिक योजना, प्रविधिको उचित प्रयोग, र पहिरोको पूर्वसूचना प्रणालीको विकास अपरिहार्य रहेकोमा जोड दिए।
मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिसकेको छ। विभागका महानिर्देशक कमलराम जोशीले कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशका अधिकांश भू भागमा ५५ देखि ६५ प्रतिशतसम्म सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ अनुसार यस वर्ष मनसुनजन्य विपद्का कारण करिब २० लाख मानिस प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने आकलन गरिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले १९ लाख ९७ हजार ७३१ जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएकामा २ लाख मानिस प्रत्यक्ष प्रभावित हुने र उनीहरूका लागि राहत व्यवस्थापनको तयारी गरिएको जानकारी दिए।
प्राधिकरणले स्थानीय तहमा स्वयंसेवकलाई तालिम दिने, सुरक्षा निकायसँग समन्वय गर्ने, र नेपाल यातायात व्यवसायी महासङ्घसँग समन्वय गरी विपद्को समयमा सवारीसाधन रोक्न अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले मनसुन अवधिभर ‘मौसम कक्ष’ २४ घण्टा सक्रिय रहने र बाढी तथा डुबानबारे पूर्वसूचना एसएमएस, टेलिफोन र भ्वाइस म्यासेज प्रणालीमार्फत सार्वजनिक गरिने बताए। नागरिकले ‘११५५’ नम्बरबाट सिधा सूचना पाउने व्यवस्था गरिएको छ।
यसबाहेक, स्थानीय तहलाई नदी, खोलानाला सफा गर्न, ढल प्रणाली खुला राख्न, पहिरो सम्भावित क्षेत्रमा चेतावनी दिन, र सुरक्षित स्थलमा अस्थायी आश्रय बनाउने कार्यलाई प्राथमिकतामा राख्न भनिएको छ। नेपाली सेनाले विभिन्न हेलिकप्टर बेसहरूमा ुरेस्क्युु टोली तैनाथ गर्नेछ भने, हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक सङ्घ र प्राधिकरणबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।






















