सिद्धबाबा सुरुङमार्गः ५६.३ प्रतिशत भौतिक प्रगति, निर्माणकार्य जारी


बुटवल । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सम्पन्न भएको छ। मुख्य टनेलको कुल १ हजार ८९ मिटरमा इन्भर्ट निर्माण कार्य सकिएको सुरुङमार्ग आयोजनाका प्रमुख इन्जिनियर कृष्णराज अधिकारीले जनाएका छन्।

प्रमुख अधिकारीले बुधबारदेखि इन्भर्ट निर्माणको काम सकिएको र अब ‘लाइनिङ’ को काम धमाधम अगाडि बढाएका हुन्। हालसम्म ८३४ मिटर लाइनका काम सकिएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान क्षेत्रमा निर्माणाधीन यस सुरुङमार्गको हालसम्म समग्र भौतिक प्रगति ५६.३ प्रतिशत पुगेको छ। यसैगरी, वित्तीय प्रगति ५०.२४ प्रतिशत रहेको आयोजनाले जनाएको छ। सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १ हजार १२६ मिटर सुरुङमार्गको निर्माण २०७९ सालदेखि सुरु भएको थियो। आयोजनाअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ। यो सुरुङमार्ग पाँच वर्ष अर्थात् २०८३ सालमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा निर्माण सुरु गरेको थियो।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्र पर्छ। सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको हो। यस खण्ड हुँदै गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन सञ्चालन हुने गर्छन्।
सरकारले पाल्पा–सिद्धबाबा मन्दिरदेखि १ हजार १२६ मिटर लामो निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग र नागढुंगा सुरुङमार्गका लागि आगामी आर्थिक वर्षका लागि रु २ अर्ब ६० करोड विनियोजन गरेको छ।






















