देशभर मनसुनी वायुको प्रभाव


काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज दिउँसो तथा राति देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै हिमपात हुनसक्ने महाशाखाले अनुमान गरेको छ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै, कोशी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मनसुन सक्रिय रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने, पहाडी क्षेत्रमा भूक्षय र पहिरो जान सक्ने तथा तराईमा डुबानको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ।























