पश्चिमाञ्चल यातायात व्यवसायी बुटवलद्वारा छात्रावृत्ति वितरण

श्यामलाल पोखरेल
बुटवल, असार २० गते । पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलले गरिब तथा जेहेन्दार विद्यार्थीका लागि २०६३ सालमा छात्रावृत्ति अक्षयकोष स्थापना गरेको थियो । समितिले आफ्ना यातायात व्यवसायी र मजदुरहरुका छोरा छोरीका लागि अक्षयकोष स्थापना गरेको हो ।

शुरुमा १ लाख ७८ हजार जम्मा गरेर स्थापना गरिएको छात्रावृत्ति अक्षयकोषमा अहिले ७ लाख ९८ हजार पुगेको छ । यही छात्रावृत्ति अक्षयकोषको व्याजबाट समितिले प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति वितरण गर्दै आएको छ ।

प्रत्यके वर्ष जस्तै यस वर्षपनि समितिले शनिबार आफ्नै कार्यालय परिसरमा विशेष कार्यक्रमको आयोजना गरी २२ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ । समितिले रुपन्देही, पाल्पा, अर्घाखांचीका विभिन्न स्कुलमा अध्ययनरत २२ जना विद्यार्थीलाई १० हजारका दरले २ लाख २० हजार रुपैयांको छात्रावृद्वि प्रदान गरेको हो ।

आर्थिक रुपले कमजोर अवस्था भएका जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका अध्यक्ष टिकाराम गौतमले बताए । छात्रावृत्तिको रकम थोरै भएपनि विद्यार्थीलाई पढ्नका लागि केही सहयोग मिल्ने र अभिभावक, विद्यार्थीमा हौसला बढाएकाले छात्रावृत्ति प्रदान गरिएको र यसलाई निरनतरता दिने अध्यक्ष गौतमले बताए ।

उक्त कार्यक्रममा बोल्दै प्रदेश सांसद तथा नेपाली कांगे्रस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले शिक्षा, स्वास्थ्य राज्यले निःशुल्क दिनुपर्ने बताइन ।संविधानले शिक्षा, स्वास्थ्यलाई मौलिक हकमा राखेकाले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने तर नभएकाले आफुले प्रदेश सरकारमा कुरा उठाउने बताइन । लुम्बिनी प्रदेशले कमाउदै पढ्दै गर्ने नारासहित नीति तथा कार्यक्रम ल्याएको र शिक्षामा लगानी बढाएको उनले बताइन ।
विद्यार्थीका लागि राज्यले दिएको सुविधा रुपन्देहीका केही विद्यालयले कटौती गरेको अनुगमनको क्रममा फेला पारिएको बताउंदै उनले भनिन् – विद्यार्थीलाई दिएको सुविधा कटौती नर्गन आग्रह गर्दै विद्यार्थीको सुविधा कटौती गरेको भेटिएमा त्यस्ता विद्यालयलाई कारवाही हुन्छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाका प्रमुख महेन्द्र खड्काले हरेक सामाजिक संघसंस्थाहरु समाजप्रति उत्तरदायी हुनुपर्ने बताए । यातायात क्षेत्रमा आफ्ना समस्याहरु थुप्रै हुंदाहुदै पनि विद्यार्थीका लागि अक्षयकोष स्थापना गरेर छात्रावृत्ति प्रदान गर्ने कार्यको प्रसंसा गर्दै यसबाट थुप्रै विद्यार्थीले लाभ लिएको बताए । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क भनेपनि व्यवहारमा त्यस्तो हुन नसकेको बताउंदै सबै विद्यार्र्थी शिक्षाको पहुंचमा पुग्नु नसक्नु दुख्खदायी कुरा हो भने ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले शिक्षा विनाको मानिस बादलमा हराएको काग जस्तै हुने भएकाले विर्थीलाई शिक्षाको पहुंचमा पुराउन यो छात्रावृत्तिले सहयोग पुराउने बताउंदै शिक्षासंगै स्वास्थ्यलाई पनि महत्व दिनुपर्नेमा जोड दिए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालयका पूर्व अध्यक्ष तथा अक्षयकोष संरक्षक अर्जुन रानाभाटले आर्थिक अवस्था कमजोर भएकै कारण कुनैपनि यायातात व्यवसायी र मजदुरका छोराछोरी पढाईबाट बन्चित नहोउन भनेर २०६३ सालमा छात्रावृत्ति अक्षयकोष स्थापना गरिएको बताए । उनले आर्थिक नभएकै कारण यातायात व्यवसायी र मजदुरका छोराछोरीलाई शिक्षाबाट बन्तिच हुन नदिने प्रतिवद्वता जनाए ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका अर्का पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठले छात्रावृत्तिको रकम सानो भएपनि विद्यार्थीलाई सहयोग मिलेको बताउंदै विद्यार्थीलाई हौसला मिलेको बताए । उनले १० टन क्षमता थाम्ने सडकहरुमा ४० टन क्षमता भएका गाडिहरु गुडाउंदा सडक र पुलहरु भत्किएको उदाहरण दिंदै अबको केही वर्षमा नेपालका सडकहरुको अवस्था झनै कमजोर हुने बताए । हामीले यो विषयमा लामो समयदेखि राज्यलाई सचेत गराउंदै कुरा उठाएपनि कुनै सुनुवाई हुन नसकेको बताउंदै राज्यलाई गम्भीर हुन आग्रह गरे ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलका निवर्तमान अध्यक्ष यमप्रसाद पाण्डेयले छात्रावृत्तिका लागि स्थापना गरिएको छात्रावृत्ति अक्षयकोष बढाउने बताए । उनले हाम्रा यातायात व्यवसायी र हामीसंग जोडिएका मजदुरका छोराछोरीलाई पैसाको अभावले पढ्नबाट बन्चित नगराउने प्रतिवद्वता जनाए ।

कार्यक्रममा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष कमल घिमिरेले शिक्षा नै सबैथोक भएकाले राज्यले गर्नुपर्ने काम हाम्रो समितिले गरेको बताए ।

पाल्पाको रैनादेवी छहरा कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जुद्वबहादुर कार्कीले छात्रावृत्तिले विद्यार्थीको मनोवल बढेको र एक जना विद्यार्थीलाई १० हजारले शैक्षिक सामाग्री किन्नका लागि ठूलो मद्व पुराउने भन्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिलाई धन्यबाद ज्ञापन गरे ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलका अध्यक्ष टिकाराम गौतमको अध्यक्षता र महासचिव खिमबहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।