आज प्रतिनिधि सभा बैठक बस्दै


काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ। यो बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरु टेबुल तथा प्रस्तुत हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त विभिन्न विधेयकसम्बन्धी सन्देशहरु टेबुल गर्नेछन्। यसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ समावेश छन्। त्यसैगरी, ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गरिनेछ।
आजको बैठकमा केही नयाँ विधेयकहरु पनि प्रस्तुत हुने कार्यक्रम छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्। यस्तै, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची तय भएको छ। यी प्रतिवेदनहरूले मुलुकको आर्थिक अवस्था र कृषि क्षेत्रको समग्र स्थितिका बारेमा महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।






















