दुई ठूला दलले संसदलाई बिचौलीको मैदान बनाए-प्रचण्ड


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले दुई ठूला दलहरू मिलेर बनेको वर्तमान सरकारले संसदलाई बिचौलीको खेलमैदान बनाएको गम्भीर आरोप लगाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसदलाई बिचौलीको खेलमैदान बनाइनु देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे। उनले वर्तमान सरकार ’सुशासनको डरले बनेको’ सरकार भएको पनि टिप्पणी गरे।
प्रचण्डले वर्तमान सरकारले संख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप लगाउँदै सरकार बिचौलीको पक्षमा छ भन्ने कुरा आम नागरिक र सत्तारुढ दलकै नेताहरूको भाषा बन्न पुगेको बताए। उनले भने, दुई ठूला दल मिल्दा जस्तो गरे पनि हुन्छ भन्ने निरङ्कुशतावादी सोच बोकेर संसदको जसरी हुर्मत लिइएको छ र कथित दुई दलको अहंकारले सार्वभौम संसदलाई समेत बिचौलीहरूको खेल मैदान बनाइँदैछ। यो देश र नेपाली जनताको लागि दुर्भाग्यपूर्ण र खेदजनक छ।

उनले संसदीय समितिबाट विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधि सभामा पुग्दा भएका चलखेल र हस्तक्षेपप्रति समेत आपत्ति जनाए। सोही बैठकमा अध्यक्ष दाहालले अब पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देश रुपान्तरण गर्ने दाबी समेत गरे। उनले गठबन्धनमा रहेर थुप्रै अप्ठ्याराका बीचमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ’कयौँ मानक’ बनाउन सकेको बताए। प्रचण्डले आफू सोही दिशाका लागि आत्मलोचनासहित अघि बढेको बताउँदै गणतन्त्रमाथि राजावादीबाट मात्र नभई सरकारको कार्यशैलीबाट पनि खतरा रहेको औँल्याए।
उनले भने, गठबन्धनमा रहेर थुप्रै अप्ठ्याराका बीचमा पनि कयौँ मानक बनाउन सक्यौँ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा। पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देशलाई रुपान्तरण गर्न सक्छौँ भन्ने अठोट अहिले पनि हामीसँग छ। यही अठोटका साथ आत्मलोचनाका साथ अघि बढेका छौँ।






















