डेंगी परीक्षण शुल्क निर्धारण गरिने


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन्। बुधबार श्रावण डेंगी सचेतना महिना घोषणा कार्यक्रममा बोल्दै उनले डेंगी परीक्षणलाई सकेसम्म निःशुल्क गर्न प्रयत्न गर्ने र सम्भव नभए निश्चित शुल्क निर्धारण गर्ने बताएका हुन्।

मन्त्री पौडेलले गरिब र दुःखी मानिसलाई परीक्षणको नाममा झन् लुट्ने काम बन्द गर्न चेतावनी दिए। उनले डेंगीबारे सरकारले गर्नुपर्ने जति काम गर्न नसकिरहेको स्वीकार गर्दै डेंगी समस्या समाज नै प्रभावित हुने गरी ’समस्याभन्दा माथि’ गइसकेको बताए।
जसरी हामीले यसलाई महसुस गर्नुपर्ने हो त्यसरी हामीले महसुस गरेको स्थिति छैन, मन्त्री पौडेलले भने, हामीले यसको जटिलता, चुनौती, समस्या जति हो, त्यसरी नै समाजलाई महसुस गराउन जरुरी छ। मलाई लागेको छैन, म सुरक्षित छु भन्ने कुरा बेकार हो। परिवारमा एक जना बिरामी भएपछि परिवारमा असहजता हुन्छ। समाजका सबै मान्छे प्रभावित भएका छन्। वर्षेनी डेंगीे बढिरहेको छ।

उनले डेंगी परीक्षणको शुल्क तय गरिनुपर्नेमा जोड दिँदै निजी स्वास्थ्य संस्थालाई पनि शुल्क निर्धारण गर्नुपर्ने बताए। दुर्गम क्षेत्रमा खाने लगाउने समस्या झेलिरहेका मानिसहरूमा डेंगीको जटिलता थपिएपछि अवस्था झन् खराब हुने भन्दै उनले चिन्ता व्यक्त गरे।






















