सशस्त्र प्रहरीलाई रासन पोशाक अभाव


काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीहरूलाई रासन र पोशाकको अभाव रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो भनाइ राखेका हुन्।

महानिरीक्षक अर्यालले सुरक्षाकर्मीहरूले धेरै समस्यामा रहेर काम गर्नुपरेको उल्लेख गरे। उनले काठमाडौंमा सशस्त्र प्रहरी बलले बिहानको चियादेखि बेलुकाको खानासम्म रु २०३ मा रासनको व्यवस्थापन गर्नुपरेको बताए।
पोशाकका सम्बन्धमा, उनले नियमावलीअनुसार गुणस्तरीय पोशाक किन्न ३ अर्ब ७ करोड आवश्यक पर्ने भए पनि जम्मा ६१ करोड १८ लाख मात्रै उपलब्ध गराइने गरेको गुनासो गरे। यसले गुणस्तरीय बुट र लुगा किन्न समस्या भएको उनको भनाइ थियो। उनले यसको व्यवस्थापनमा नेपाल सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

ूसुरक्षाकर्मीहरूले धेरै समस्यामा काम गर्नु परिरहेको छ,ू अर्यालले भने, रासनकै पनि धेरै कमी छ। काठमाडौंमा २०३ रुपैयाँ छ। त्यसले दिनभरको चियादेखि सुत्ने बेलासम्मको खानाको म्यानेज गर्नुपरेको छ । उनले थपे, पोशाकमा नियमावलीमा दिएको अधिकारअनुसार किन्नुपर्दा पोशाक लगभग ३ अर्ब ७ करोड हामीलाई आवश्यक पर्दछ। जम्मा ६१ करोड १८ लाख दिइन्छ। क्वालिटीअनुसारको बुट, लुगा किन्न समस्या छ। यसको व्यवस्थापनमा नेपाल सरकार गम्भीर हुन जरुरी छ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले अपराध नियन्त्रणका लागि सीमामा अभिलेख राख्ने काम गरिरहेको पनि बताए। साथै, सुरक्षाकर्मीको मनोबल बढाउनका लागि ५०० जनाको बीमा (इन्स्योरेन्स) गरिएको जानकारी पनि उनले दिए।






















