राप्रपाद्वारा ०४६ सालपछिका उच्चपदस्थमाथि छानबिनको माग

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा व्याप्त भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ।

शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर निवेदन दर्ता गराएको हो। निवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले अहिले देशमा भ्रष्टाचार महामारीको रूपमा फैलिएको बताए। उनले भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा पाएका अख्तियार जस्ता संवैधानिक अंगहरू कतिपय सन्दर्भमा निष्क्रिय र निष्प्रभावी देखिएको आरोप लगाए।

लिङ्देनले २०४६ साल पछिका उच्चपदस्थ नेता, कर्मचारी र उनीहरूका आफन्तहरूसमेतको सम्पत्ति छानबिन हुनुपर्ने माग गरे। उनले आफूहरूले कुनै पार्टी वा व्यक्ति विशेषमाथि मात्र नभई समग्रमा छानबिन हुनुपर्ने उल्लेख गरे। अध्यक्ष लिङ्देनले भने, अहिले भ्रष्टाचार कहाँ–कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको छ। मन्त्रीहरू एक–अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन्।

अध्यक्ष लिङ्देनले भ्रष्टाचार प्रकरणमा राजनीतिक नेतृत्व छानबिनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्न उठेको बताए।