वर्तमान सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमै बित्योः वर्षमान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताएका छन्।

पार्टी सम्बद्ध गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे।

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला कांग्रेस नेत्री एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेको टुंगिने दाबी उनको थियो।

सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लागाए। यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनको भनाइ थियो।

यस्तै, उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पुनले गरे ।
पुनले ओली सरकारको एक वर्ष त्यसै खेर गएको बताए। सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको आरोप उनको छ।

‘केपी ओली नेतृत्वको सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमै बितेको छ। भ्रष्टाचारका एकपछि अर्को काण्ड थपिएको छ’, पुनले भने, ‘भर्खरै घुस मागेका एक मन्त्रीले राजीनामा दिए। अर्काको फेरि घुस डिल गरेको अडियो सार्वजनिक भएको छ। एक वर्षमा सरकारले बिचौलिया पोस्ने कामबाहेक केही गरेको छैन।