फरक मत राख्दैमा कारवाही गर्नु गलत हो, हटेर होइन डटेर सामना गर्छु


बुटवल, साउन ११ गते । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा लागेका रुपन्देही देवदह निवासी राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेल कारवाहीमा परेका छन् । संगठनले उनलाई कारवाही स्वरुप निस्कासन गरेको छ ।

पूर्व राष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा सक्रिय हुने अभिव्यक्ती दिएपछि खुलेर विद्यादेवी भण्डारीको पक्षमा देखिएका खरेललाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संगठनबाट एक वर्षका लागि निष्कासन गरिएको एक एमाले नेताले बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको साउन ९ गते शुक्रबार बसेको पदाधिकारीको बैठकले संगठनबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
खरेल विद्यादेवी भण्डारीको पक्षमा बोलेपछि तत्कालै युवा संगठन नेपालले स्पष्टीकरण सोधेको थियो । खरेलले भौतिकरुपमा उपस्थित नभई इमेलमार्फत स्पष्टीकरण दिंदै आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गरेका थिए । खरेलले सही प्रकारको स्पष्टिकरण नदिएपछि संगठनका सबै जिम्मेवारीबाट पदमुक्त तथा निष्कासन गरिएको बताईएको छ ।

राष्ट्रिय युवा संघका महासचिव रमेश चौलागाईले २०८२ साल जेठ ९ गतेदेखि ११ गतेसम्म संगठनको पोखरामा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनले संशोधन गरेको धारा ४१ र ४२ को क र ख बमोजिम संगठनका जिम्मेवारीबाट पदमुक्त तथा निष्कासन गरिएको जानकारी गराएका छन् ।
संगठनको कारबाहीमा परेका सुरज खरेलले आफु सही ठाउंमा हुंदा हुदैपनि नियतवस गरिएको कारबाही गरिएको बताए ।
युवा संघ नेपालको महाधिवेशनमा सुमन पुरीलाई समर्थन गरेको र पार्टीका कुनैपनि नेताहरुलाई अभद्र व्यबहार नगरेको र आफुले सधै संगठनको हितमा काम गरेको मिसन टुडेलाई प्रतिक्रिया दिएका छन् । पार्टीलाई एकीकृत तथा एकतावद्व बनाउने उद्वेश्यले नेतृत्वको विकल्प खोजेको र त्यस विषयमा बोलेको उनले स्वीकार गरेका छन् । परिवर्तन र नेतृत्वको विकल्पबारे सामाजिक सञ्जालमा कुरा उठाउनु कुनै अपराध नभएको सुरज खरेलको तर्क छ ।
अब लगत्तै राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको बैठक बसेर यसबारे निर्णय गर्ने र पत्रकार सम्मेलन गरी जानकारी गराउने मिसन टुडेलाई बताए । फरक मत राख्दैमा कारवाही गर्नु गलत हो । अलोकतान्त्रिक र गैरजिम्मेवारी हो । यसको म हटेर होइन डटेर सामना गर्छु उनले भने ।
सुरज खरेल देवदह नगरपालिकाका नगर प्रमुख धुव्र खरेलका छोरा हुन् ।
राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेशको २०७९ साल कार्तिक १७ गते नवलपरासीमा सम्पन्न प्रथम अधिवेशनबाट सुरज खरेल राष्ट्रिय युवा संघको अध्यक्षमा चुनिएका हुन् ।






















