दुरगामी सहकारीको २५ करोड नियम विपरित लगानी, अध्यक्ष र सचिव फरार

बुटवल, साउन १५ गते । रुपन्देहीको तिलोत्तमा वडा नम्बर ३ डिंगारनगरमा रहेको दुरगामी सहकारीका अध्यक्ष र सचिव सहकारीको पैसा अपचलन गरेर फरार छन् । सहकारीका अध्यक्ष र सचिवले पैसा अपचलन गरेर सम्पर्कविहन भएपछि बचत कर्ताहरु विचल्लीमा परेका छन् ।

दुरगामी बहुउद्वेश्य सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री फरार भएको एक महिना बढी भयो । उक्त सहकारीका १९ सय बढी बचत कर्ताले आफ्नो पैसा फिर्ताको माग गर्दै सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर क्षेत्रीको घर र सहकारीमा धर्ना दिंदै आएका छन् ।

सहकारीमा जम्मा भएको पैसा अपचलन भएको पुष्टि भएपछि पैसा फिर्ताको माग गर्दै अध्यक्ष, सचिवको घर र सहकारीमा धर्ना दिनु परेको पीडित बचत कर्ता रत्ना पौडेलले बताइन । सहकारीमा जम्मा भएको पैसा अपचलन भएको पुष्टि भएपछि फरार अध्यक्ष र सचिवबोहक अन्य सञ्चालक र बचतकर्ताहरुले छानविन समिति गठन गरेका थिए ।

२८ दिन लगाएर छानविन गरेको समतिले सहकारीबाट १२ करोड हिनामिना भएको र करिव २५ करोड रुपैयां सहकारीको नियम विपरित लगानी भएको बताएको छ । योगेन्द्र बास्तोलाको नेतृत्वमा गठित लेखा परीक्षण समितिले बिहीबार ४ सय ५० पृष्ठको प्रतिवेदन छानबिन व्यवस्थापन तथा समन्वय समितिलाई बुझाएको छ ।

लेखा परीक्षक योगचन्द्र बास्तोलाले सहकारीमा ठूलो रकम अपचलन भएको पुष्टि गर्दै भने – सहकारीले दुग्धको पनि कारवार गर्ने गरेको र दुग्ध कारोबारबाहेक सबै हिसाव निकाली प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन प्रष्ट बोलेको लेखा परीक्षक बास्तोलाले मिसन टुडेलाई बताए ।
सहकारीको लेखा परीक्षण प्रतिवेदन बिहीबार नै लुम्बिनी प्रदेशको सहकारी दर्ता रजिस्टार कार्यालयलाई बुझाईएको छानबिन व्यवस्थापन तथा समन्वय समितिका संयोजक बेलप्रसाद शर्माले जानकारी गराए ।

अध्यक्ष र सचिव फरार भएपछि सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले व्यवस्थापकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न थालेपछि व्यवस्थापक पराजुलीको श्रीमतीले गत असार २५ गते जिल्ला अदालत रुपन्देहीमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन ।

बचतकर्ताहरुले अध्यक्ष र सचिवको भौतिक उपस्थितीमा छलफल गराउन माग गरेर घरघेर्न थालेपछि प्रहरीले अध्यक्ष र सचिवका श्रीमतीहरुसंग छलफल गराएको थियो ।

प्रहरीले बचतकर्तासंग अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिवको श्रीमती गीतादेवी पन्थीबिच छलफल गराएको हो । छलफल भएपनि कुनै निकास निस्कने सकेको छैन ।

छलफलमा अध्यक्ष घनश्याम तिवारीको श्रीमती शारदा तिवारीले अपचलन भएको रकमको जिम्मेवारी अध्यक्ष र सचिवले मात्रै नहुने सञ्चालकहरु सबैले लिनुपर्ने बताएकी छन् ।

फरार रहेका अध्यक्ष र सचिवलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी गरेको छ । अदालतले पक्राउ पूर्जी जारी गरेपनि पक्राउ गर्न चासो नदेखाएको भन्दै बचतकर्ताहरु प्रहरीप्रति आक्रोशित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले अध्यक्ष, सचिवको खोजीकार्य भैरहेको र छिट्टै पक्राउ गरिने बताए ।
लुम्बिनी प्रदेश कार्यक्षेत्र भएका बहुउद्देश्यीय सहकारीमा एकपछि अर्को समस्या देखिदै गएपछि अन्य सहकारीका बचतकर्ताहरु ससंकति भएका छन् ।

सहकारीको ठूलो रकम अपचलन भएको पुष्टि भएपनि यो विषयमा राजनीतिक दलहरु केही बोलेका छैनन् ।