गुल्मीमा पहिरोका कारण सडक अवरुद्ध

गुल्मी। विगत तीन दिनदेखिको लगातार वर्षाका कारण गुल्मीका विभिन्न सडकहरू पहिरोका कारण अवरुद्ध भएका छन्। यसले गर्दा जनजीवन र यातायातमा प्रत्यक्ष असर परेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार, पहिरोले अवरुद्ध भएका सडकहरू र तिनको विवरणः

कालीगण्डकी करिडोरः कालीगण्डकी गाउँपालिकाको वडा नम्बर १ (गरगरे), २ (राक्से), र ३ (कनौटा) मा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

रिडी–वामीटक्सार सडकः सत्यवती गाउँपालिका ६ को डहरे खोला नजिक पहिरो खसेको छ। रिडी–खज्र्याङ सडकः चन्द्रकोट गाउँपालिका ८ को तल्लाफाँट मा पनि सडक अवरुद्ध भएको छ।

प्रहरीले सडक खुलाउनका लागि पहल गरिरहेको छ तर लगातारको वर्षाले गर्दा काममा ढिलाइ भइरहेको छ। निरन्तर वर्षाका कारण कालीगण्डकी नदी मा पानीको सतह बढ्दै गएको छ। यसलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले नदी किनारमा बसोबास गर्ने सबै नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।