राप्ती र बबईमा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन


काठमाडौँ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राप्ती र बबई नदीमा पानीको सतहले खतराको तह पार गरेपछि जोखिमयुक्त क्षेत्रहरूमा तत्काल सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिएका छन्। उनले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको र भेरी तथा बबई नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेकोले जनधनको क्षति हुन नदिनका लागि यस्तो निर्देशन दिएका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार, कार्यवाहक प्रधानमन्त्री सिंहले राप्ती र बबईको अवस्थाबारे जानकारी लिएका थिए। भट्टले भने, जलस्तर खतराको तह पार गरेको हुनाले हामीले सूचना जारी गरिसकेका छौँ। जनधनको क्षति हुन नदिन समयमै सतर्कता अपनाएर सुरक्षाकर्मीहरू जोखिमयुक्त स्थानमा तैनाथ गर्न निर्देशन दिनुभएको छ।
आज (मंगलबार) महाकाली र कर्णाली नदीको जलस्तर पनि बढ्ने पूर्वानुमान रहेकाले ती क्षेत्रका बासिन्दालाई पनि सचेत रहन आग्रह गरिएको छ। कार्यवाहक प्रधानमन्त्रीले मधेस प्रदेशमा वर्षाको अवस्थाबारे पनि चासो लिएको र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले त्यहाँको वस्तुस्थिति बारेमा जानकारी गराएको भट्टले बताए।

यसअघि, जल तथा मौसम विज्ञान विभागले पश्चिम नेपालमा भारी वर्षाको सम्भावना रहेको र त्यसबाट नदीहरूमा जलस्तर बढ्न सक्ने चेतावनी दिएको थियो। यसलाई मध्यनजर गर्दै, सरकारले उद्धार र राहतको तयारी सुरु गरिसकेको छ।






















