“नाफाको घण्टीमा बज्ने शिक्षाको घन्टी– सुमना श्रेष्ठको विरोध र विडम्बना“


बुटवल, साउन २६ गते । शिक्षा जुत्ता बेच्ने कुनै पसल होइन — यो विचार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले संसदको रोस्ट्रमबाट स्पष्ट रूपमा राखेकी छन्। सुमना श्रेष्ठ भन्छिन्न“विद्यालयहरू जुत्ता बेच्ने पसल होइनन्; शिक्षालाई नाफाको साधन बनाउनु अपराध हो।” उनका यी शब्दहरूले धेरैको मन जिते, धेरैका ताली पनि पाए । तर, यिनै माननीय सांसदको जीवनपथमा दृष्टि डुलाउँदा एउटा असहज विरोधाभास देखिन्छ — सुमना श्रेष्ठ आफैं निजी क्षेत्रका उत्कृष्ट र महँगा विद्यालय तथा विदेशी विश्वविद्यालयहरूमा शिक्षित भएर आजको स्थानमा पुगेकी छन्।

सुमना श्रेष्ठले स्कूल तहको शिक्षा काठमाडौंको निजी बोर्डिङ स्कुलबाट शुरू गरिन् — Saraswati Boarding Higher Secondary School, अनि Budhanilkantha School af6 A‑Levels गर्दै अमेरिका पुगिन्। अमेरिका पुगेर Bryn Mawr College / MIT Sloan School of Management जस्ता प्रतिष्ठित (र महँगा) संस्थामा अध्ययन गरिन्। यसै शैक्षिक लगानीको फलस्वरूप उनी आज सांसद बनिन्, उदाहरणीय बौद्धिक व्यक्तित्व बनिन्।
तर जब उनी संसदमा निजी विद्यालयप्रति आक्रोश देखाउछिन् , तब प्रश्न उठ्छ । के निजी विद्यालयमा पढेकै कारण सुमना श्रेष्ठ बन्न सकिन्छ भने, त्यस्तो अवसर अरू जनताका छोराछोरीलाई किन नदिने? उनी भन्दा पनि चलाख, प्रतिभावान र परिश्रमी युवायुवतीहरू देशभर छरिएर छन्, तर अवसरको अभावमा चुकिरहेका छन्। सुमना श्रेष्ठ जस्तै उनीहरू पनि माननीय हुन सक्ने क्षमतावान छन्, तर उनीहरूले पाउने विद्यालय भने कतै सिँढी नबनिदिने ढुंगाजस्तो हुन्छ — जहाँ शैक्षिक लगानीभन्दा बढी राजनीति, पहुँच, र गरिबी बाधक बन्छन्।

निजी विद्यालयको आलोचना गर्नु ठीक होला जो अत्यधिक नाफामुखी हुन्छन्, शिक्षालाई व्यापार बनाउँछन्, तर समाधान उनीहरूको विरोध होइन; समाधान हो — गुणस्तरीय, पहुँचयोग्य र उत्तरदायी निजी तथा सरकारी दुवै खालका शिक्षण संस्थाको विकास।
यहाँ सुमना श्रेष्ठको आलोचना गर्न खोजिएको होइन, उहाँजस्तो व्यक्ति बन्ने बाटो सबैका लागि खुला होस् भन्ने सुनिश्चितता होस् भन्न खोजिएको हो । ताकि, सुमना श्रेष्ठ मात्र नभई थुप्रै अरू श्रेष्ठहरू पनि संसदसम्म पुगुन्, नीति निर्माणमा पुगुन्, र मुलुकका कथा लेखुन्।
तपाईंले निजी शिक्षा लिएर माननीय बन्न सक्नुहुन्छ भने, किन जनताका छोराछोरीले त्यस्तो बाटो प्रयोग गर्न नपाउने?
लेखक बुटलको दीप बोर्डिङ हाई स्कुलका प्राचार्य हुनुहुन्छ ।






















