इक्यानद्वारा करदाता शिक्षा तथा लेखा व्यवस्थापन अन्तरक्रिया

   बुटवल, साउन २८ गते । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा “करदाता शिक्षा तथा लेखा व्यवस्थापनबारे बुटवलमा अन्तरक्रिया गरिएको छ । इक्यान आवद्वताहरुलाई “करदाता शिक्षा तथा लेखा व्यवस्थापन जानकार गराउने उद्वेश्यले अन्तरक्रिया आयोजना गरिएको हो ।
इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेले इक्यानमा आबद्ध शैक्षिक परामर्श व्यवसायी कर शिक्षा, लेखा प्रणाली, व्यवसाय कर, कर छुट, मूल्य अभिवृद्धि करका विषयमा जानकार हुनुपर्ने बताउंदै आफ्नो पेशा व्यवसायप्रति सबै प्रकारका कानुनी प्रक्रिया र जटिलताबारे जानकार हुन आग्रह गरेका छन् ।
कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले सदस्य संस्थाहरूले आचारसंहिता भित्र रहेर सत्य, प्रमाणित र पारदर्शी सेवा दिन आग्रह गर्दै शैक्षिक परामर्श सेवाले विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने बताए । उनले हरेक संस्था उत्तरदायित्वप्रति गम्भीर बन्नुपर्नेमा जोड दिंदै अनियमितता वा भ्रमपूर्ण जानकारी दिने संस्थामाथि इक्यानले कडा निगरानी गरी आवश्यक कारबाहीको सिफारिस गर्ने नीति अवलम्बन गरिने बताए ।

इक्यान रुपन्देहीका संस्थापक तथा निवर्तमान अध्यक्ष देवबहादुर कुँवरले करसम्बन्धी सचेतनावृद्धि गर्दै सदस्य संस्थाहरूलाई व्यवस्थित र उत्तरदायी बनाउनुको विकल्प नरहेको बताए । लेखा र कर प्रणालीप्रति सजग रहनु अत्यावश्यक रहेकोमा जोड दिए ।

इक्यान केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे र कोषाध्यक्ष आशिक कार्कीले करसम्बन्धी प्रशिक्षण दिएका थिए ।
करका विभिन्न प्रावधानहरू, करको वर्गीकरण, फर्म दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरू, कर तिर्ने समय र प्रक्रिया, छुटका व्यवस्था, दण्ड–जरिवानालगायतका विषयमा प्रशिक्षण दिईएको थियो । प्रशिक्षण सत्र अत्यन्त व्यावहारिक र सहभागीमैत्री शैलीमा संचालनसमेत गरिएको थियो ।
प्रशिक्षणपछि सहभागी व्यवसायीबीच लेखा प्रणाली कसरी व्यवस्थित राख्ने, बिल तथा इनभ्वाइस काट्ने कानुनी तरिका, मूल्य अभिवृद्धि करको सही प्रयोग, विवरण कहिले र कसरी बुझाउने, कर कार्यालयसँग समन्वय गर्ने तरिका लगायतका विषयमा छलफल गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभव, समस्या र जिज्ञासा राख्दै समाधानका विक्षयमा आआफ्ना धारण राखेको कार्यक्रम संयोजक तथा इक्यान रुपन्देहीका कोषाध्यक्ष दिपेश अर्यालले जानकारी गराए ।

उनीहरुले व्यावसायिक र जानकारीमूलक प्रशिक्षणले सदस्य संस्थाहरूलाई पारदर्शीता, जवाफदेहिता र कानुनी दायित्व पालन गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा एनएमबि बैंक लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख युवराज पाठकले बैंक सधैं इक्यान सदस्यहरूसँग सहकार्य गर्न तत्पर रहेको र बैंकिङ समस्या समाधानमा सहजता ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेको अध्यक्षता, उपाध्यक्ष राजेश प्रसाद पाण्डेले स्वागत र सचिव गोविन्द खनालको सञ्चालनमा कार्यक्रम भएको थियो ।