शंकाको आधारमा रोकिने छैनः अध्यागमन विभाग


काठमाडौँ। अध्यागमन विभागले अबदेखि शङ्का वा हैसियतका आधारमा कुनै पनि नेपाली नागरिकलाई विदेश जानबाट नरोक्ने प्रतिबद्धता व्यक्त गरेको छ। विभागका महानिर्देशक रामचन्द्र तिवारीले पत्रकार सम्मेलन आयोजना गर्दै वैदेशिक यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन विभिन्न सात पक्षलाई सहयोग गर्न अनुरोध गरेका छन्।

विभागले अध्यागमन प्रक्रियामा अनियमितता र भ्रष्टाचारप्रति ‘शून्य सहनशीलता’ को नीति अपनाइएको बताउँदै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ। यद्यपि, नक्कली वा झुट्टा कागजात प्रयोग गरी यात्रा गर्न खोज्ने व्यक्तिलाई भने प्रस्थान अनुमति नदिइने र कानूनी कारबाही गरिने चेतावनी विभागले दिएको छ।
महानिर्देशक तिवारीले यात्रुहरूलाई यात्रामा जानुअघि वैध राहदानी, भिसा, दुईतर्फी हवाई टिकट, होटल बुकिङ र आवश्यक डलर सटहीजस्ता कागजात अनिवार्य रूपमा तयार गर्न अनुरोध गरेका छन्। साथै, दलाल वा बिचौलियाको प्रलोभनमा नपर्न र कुनै पनि प्रक्रियामा रकम मागिएमा तत्काल विभाग, प्रहरी वा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी दिन पनि आग्रह गरिएको छ।

यसका साथै, विभागले वायुसेवा कम्पनी, स्थानीय तह, सञ्चार माध्यम, विदेशस्थित कूटनीतिक नियोग, ट्राभल्स तथा मुद्रा सटही संस्थाहरूलाई पनि आ–आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ।






















