पुनः मनसुन सक्रियः देशभर वर्षाको सम्भावना


काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशभर वर्षाको सम्भावना छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी तथा तराईका भागमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी, कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेग तथा लुम्बिनी प्रदेशको तराई र पहाडी क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आज राति पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ। पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

महाशाखाले वर्षाका कारण पहाडी भागमा पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो), नदीनालामा पानीको सतह बढ्ने र यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।























