भैरहवाका नापी कार्यालय अधिकृतविरुद्व भ्रष्टाचार मुद्वा दायर

बुटवल, भदौ १३ गते । भैरहवाका नापी कार्यालय अधिकृत सुग्रीव यादवविरुद्व भ्रष्टाचार विरुद्वको मुद्वा दायर भएको छ । नापी अधिकृत यादवले ५ करोड ७९ लाख ६२ हजार ४ सय ४० रुपैंयाको अबैध सम्पती जम्मा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्वा दायर गरेको हो ।
विभागीय प्रमुखसहितका कर्मचारीहरु र राजनीतिक दलका नेताहरुलाईसमेत प्रभावमा पारी अबैध सम्पती कमाएको यादवमाथि आरोप छ ।
यादवले उपसचिवसरहको प्रमुख रहने दरबन्दी रिक्त बनाई, विदेश पढ्न गएका कर्मचारीको पद र दरबन्दी कायमगरेकोसमेत आरोप छ । निमित्त कार्यालय प्रमुख भएरसरकारी सार्वजनिक जग्गा हाल साबिक, प्लट मिलान, सार्वजनिक जग्गा व्यक्तिको नाउँमा पारी करौडौंको आर्थिक चलखेल गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी गराएको छ ।

यादव र परिवारको २०५३ असार १३ देखि ८१ असार १६ सम्मको सम्पती जाँच गर्दा तलभ भत्तासहित कुल वैध आय ९ करोड ३ लाख ९५ हजार ४ सय ४४ देखिएको अख्तियारले जारी गरेकोे विज्ञप्तिमा उल्लेख छ । सोही अवधिमा जग्गा खरिद, घर निर्माण, शेयर खरिद, सवारी साधन खरिद, व्यवसायिक लगानीको रकम हिसाब गर्दा व्ययतर्फ १४ करोड ८३ लाख ५७ हजार ८ सय ८४ रूपैयाँ खर्च भएको बुझिएको छ ।
अवैध सम्पत्ति आर्जनबाट उनले श्रीमती गायत्री यादव, छोराहरु सुधान्सु यादव र शुभम यादवका नाममा खरिद गरेका सम्पत्तिसमेत जफत गर्ने गरी तीनै जनालाई प्रतिवादी बनाइएको छ ।

भैरहवाका नापी कार्यलय अधिकृत सुग्रीव यादवको राम्रो व्यवहार नभएको भन्दै भैरहवाका स्थानीयले गुनासो गर्दै आएका थिए । सुग्रीव यादवले गरेका कामका गतिविधिहरु शंकापस्द खालका रहेका सेवाग्राहीले बताउंदै आएका थिए ।