भ्रष्टाचार आरोपीलाई एमालेको संरक्षण

बुटवल, भदौ १५ गते । भ्रष्टाचारको आरोपमा अख्तियारमा मुद्वा खेपिरहेका रुपन्देही क्षेत्र नम्बर ४ मर्चवारका दुई गाउंपालिकाका पूर्व अध्यक्षलाई एमालेले पार्टी प्रवेश गराएर संरक्षण गरेको छ । उनीहरु छोटो समयमा चार पटक दल परिपवर्तन गरेका व्यक्ति हुन् । अहिले अवसरको खोजीमा लागेका उनीहरुलाई एमालेले तामझामा साथ पार्टी प्रवेश गराएर संरक्षण गरेको हो ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्द बनियालाई आगमी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको मुखमा एमालेले पार्टी प्रवेश गराएको हो । भ्रष्टाचार आरोप लागेका जितेन्द्रनाथ शुक्ला र केशवनन्द बनियासंगै अन्य थुप्रैले पार्टी प्रवेश गरेको भन्दै एमालेका नेता र कार्यकर्ताहरुले सामाजिक सञ्चालमा प्रचार गरिरहेका छन् ।
मर्चवारको असुरैनामा विशेष कार्यक्रमको आयोजना गरी तामझाका साथ एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी प्रवेश गराएका हुन् ।
शुक्ला २०७४ को स्थानीय तह चुनावमा विजय गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट पालिका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि ०७९ मा माओवादीमा प्रवेश गरेर पुनः गाउँपालिका अध्यक्ष उम्मेदार बनेर पराजित भएका थिए ।
पराजित भएपछि उनी जनता समाजवादी पार्टी नेपाल हुँदै जनमत पार्टीमा प्रवेश गरेका उनी गत आम चुनावमा प्रदेश सभाको उम्मेदवार बनेका थिए । तर उनी पराजित भएका हुन् ।

त्यस्तै मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केवशनन्द बनिया ०७४ मा उपेन्द्र यादव नेतृत्वको पार्टीबाट पालिका अध्यक्ष जितेका थिए । ०७९ मा लोसपाबाट लडे पनि हारेका थिए । बनियाविरुद्ध २०७९ चैतमा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । स्रोत नखुलेको सम्पत्तिबराबर बनियालाई ९१ लाख ८६ हजार ५४३ रूपैयाँ ३० पैसा बिगो जफत र जरिवाना असुल गर्न मागदाबीसहित मुद्दा दर्ता भएको थियो ।

बानियाँको खर्च तथा लगानीतर्फ छोराहरूलाई अध्ययन खर्च, घर निर्माण खर्च, छोराको नाममा विभिन्न जग्गा खरिद, बिमाबापत बुझाएको प्रिमियम रकम, छोराको नाममा मोटरसाइकल र ट्याक्टर खरिद खर्च, कर्जाबापत तिरेको साँवाब्याज रकम, राइस मिलको आयबापत तिरेको आयकर र निज तथा निजको परिवारको नाममा विभिन्न बैंकहरुमा रहेको खाताको मौज्दात एक करोड ७५ लाख ९६ हजार ९९४ रूपैयाँ ३६ पैसा देखिएको थियो ।

आयभन्दा व्यय ९१ लाख ८६ हजार ५४३ रूपैयाँ ३० पैसाबराबर रकमको स्रोत नखुलेको, तत्कालीन अध्यक्ष बनिया र उनको परिवारले उच्च जीवनस्तर यापन गरेकोजस्ता कारणले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको आरोप थियो ।
भ्रष्टाचारको आरोप लागेका जितेन्द्रनाथ शुक्ला र केशवनन्द बनियासंगै उनीहरुको समूहलाई एमालले पार्टी प्रवेश गराएपछि विपक्षहरुले एमाले भ्रष्टचारी संरक्षण गर्ने पार्टी हो भन्दै आलोचना गरेका छन् । एमाले भित्रैका केही नेता कार्यकर्ताले पनि शुक्ला र बनियालाई पार्टी प्रवेश गराएको मन पारेका छैनन् ।

एमालेले आगमी कार्तिक १७ गते हुने उपनिर्वाचन जित्नका लागि शुक्ला र बनियासहितको उनीहरुको टिमलाई पार्टी प्रवेश गराएको कतिपयले सामाजिक सञ्जालमा बताएका छन् ।