सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा उत्रियो जेनजी पुस्ता


काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको विरोधमा जेनजी पुस्ता सडकमा उत्रिएको छ । जेनजी पुस्ता काठमाडौँसहित मुख्य सहरहरुमा उत्रिएको हो ।

सो क्रममा काठमाडौँको माइतीघर मण्डलामा जेनजी पुस्ताले प्रदर्शन गरेको छ । सन् १९९७ देखि २०१२ भित्र जन्मेका युवाहरुको समूहलाई जेनजी पुस्ता भनिन्छ।
उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत नै आह्वान गर्दै आएका छन् । प्रदर्शनकारीहरू माइतीघरबाट मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने छन् । जेनजी पुस्ताको यस आन्दोलनलाई केही जनप्रतिनिधि र नेताले समेत समर्थन गरेका छन् ।

जेनजी पुस्तालाई राजनीतिकरण गर्न खोजिएको भन्दै विरोधसमेत भएको छ । यो प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति लिइएको थियो । सरकारले २५ ओटा नेपालमा दर्ता नभएका सामाजिक सञ्जाललाई दर्ता नभएसम्म चल्न नदिने भन्दै प्रतिबन्ध लगाएको हो ।






















