जेनजीको आन्दोलन उग्र, गोली प्रहार


काठमाडौँ । जेन्जी पुस्ताको आन्दोलन उग्र बनेसँगै नियन्त्रणमा लिने क्रममा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरमा हवाई फायर भएको छ । साथै गोलीसमेत हानिएको छ ।

भ्रष्टाचारविरुद्धको आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोडेर संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन रबरको गोली चलाएको छ । गोली लागेर एक पत्रकारसहित चार जना घाइते भएका छन् ।
घाइते हुनेमा कान्तिपुरका सञ्चारकर्मीसहित तीन जना विद्यार्थी रहेका छन् । घटनापछि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । माइतीघर मण्डलाबाट प्रदर्शन गरी जेनजी पुस्ता नयाँ बानेश्वर पुगेर निषेधित क्षेत्र तोड्दै संसद् भवन परिसरमा प्रवेशमात्र गरेको छैन संसद् भवनको गेटमै आगो लगाएको छ ।

यो सँगै प्रहरीले हवाई फायर गरेको हो । दमकल अगाडि जान नसकेपछि आगो फैलिएको हो । यता, जेन्जी नेपालले आन्दोलनमा घुसपैठ भएको भन्दै तत्कालै सबैलाई फर्किन आह्वान गरेको छ ।
जेनजी पुस्ताको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौँमा कर्फ्यु जारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सोमबार दिउँसो साढे १२ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् । कर्फ्यु बानेश्वर क्षेत्रमा लगाइएको हो ।






















