जेन-जीलाई सुझावः सांसद सोबिता भन्छिन्– संसद् विघटन गर्नु संकटमा पर्नु हो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद् विघटन गर्न नहुने बताएकी छिन् । एक भिडिओ सन्देश जारी गर्दै सांसद गौतमले जेन-जीसहितको संलग्नतामा अन्तरिम नागरिक सरकार गठन गर्न सकिने भए पनि संसद् विघटनको काम भने सैह्य नहुने बताएकी हुन् ।

उनले सन्देशमा भनेकी छिन्, जनताको सर्वोच्चता कायम राख्ने भनेको नेपालको संसद्ले हो । यो विघटन गर्न पाइँदैन । यो विघटन गर्नु भनेको नेपालको जनताको सर्वोच्चता संकटमा पर्नु हो । जेनजीहरुलाई देखाएर कसैले पनि आफ्नो स्वार्थप्रेरित निर्णय गर्न नपाइने उनको अडान थियो ।

भदौ २३ र २४ गते भएको जेनजीहरुको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । उनको अवस्थासमेत बाहिर ल्याइएको छैन् । यता जेनजीसहितको स्वार्थप्रेरित समूहले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मन्त्रालयहरु, सरकारी कार्यालयहरु सबै जलाएका छन् ।

यो उद्दण्डको जिम्मेवारी काँधमा लिएर जेनजी अगाडि बढ्नु पर्नेछ । यता नेपाली सेनाले जेनजीहरुलाई संवादमा आउन आह्वान गरेको छ । तर सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलसमेत पछि परेका छन् । सम्भवतः आज पौडेलसँग जेनजीहरूले वार्ता गर्नेछन् । यद्यपि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रपतिलाई राजीनामा दिन दबाब दिएको सूचनासमेत सार्वजनिक भएको छ ।