कमान कार्कीको हातमाः प्रधानमन्त्री कार्कीको शपथ मात्रै भएन मन्त्रिपरिषद् विस्तार


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जीहरुको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ दिलाएका हुन् ।

कार्की नेपालकी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् । उनी नेपालकै पहिलो महिला प्रधानमन्त्री बनेसँगै यो कीर्तिमान विश्वमै विरलै बन्ने कीर्तिमान बनाएकी छिन् ।
नेपालको संविधान अनुसार रहेर राष्ट्राध्यक्षका नाताले राष्ट्रपति पौडेलले वषम परिस्थितिको गाँठो फुकाउन राष्ट्रपतिले कार्कीलाई प्रधानमन्त्री बनाएका हुन् । कार्कीको राष्ट्रपतिको कार्यालय शीतल निवासमा शपथ ग्रहण भएको हो ।

उनलाई छ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गर्नेगरी प्रधानमन्त्री बनाइएको हो । शपथ दिलाएसँगै राष्ट्रपति पौडेलले कार्कीलाई शुभकामना दिँदै भने, ‘देश सफल होस् । जनताले सफलता प्राप्त गरुन् ।
भएन मन्त्रिपरिषद् विस्तार
शुक्रवार मन्त्रिपरिषद् विस्तार भएन । सबै मन्त्रालयको जिम्मेवारी अन्तरिम प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छिन् । केही नाम बाहिर आएका भए पनि उनलेमात्र शपथ लिएकी हुन् ।
उनले हिजो मन्त्रिमण्डल पनि विस्तार गर्ने कार्यक्रम रहेको बताइए पनि उनी एक्लैले शपथ लिइन् । मन्त्रिपरिषद् विस्तारपछिमात्रै उक्त मन्त्रिपरिषद्को सिफारिसपछि मात्रै संसद विघटन गरिने भएको छ ।
शीतल निवासको सानो कोठामा गरिएको शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधाीश प्रकाशमान राउत र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई रहेका थिए ।
त्यस्तै विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरु, सकारका सचिवहरु लगायत सहभागी थिए । त्यस्तै जेन–जी नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।






















