आज विश्वकर्मा पूजा

काठमाडौँ। आज असोज १ गते, देशभर विश्वकर्मा बाबाको पूजा गरेर विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदैछ। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन यो पर्व मनाउने परम्परा रहेको छ।

यो दिन विभिन्न कलकारखाना, उद्योग, र कार्यशालाहरुमा भगवान् विश्वकर्माको मूर्ति वा तस्बिर स्थापना गरी विधिपूर्वक पूजा आराधना गरिन्छ। मजदुरहरुलाई सहभागी गराएर यो पर्व मनाइन्छ र उनीहरुले प्रयोग गर्ने औजारहरुको पनि पूजा गरिन्छ । यसो गर्दा ती औजारहरु धेरै समय टिक्ने र काममा सहजता आउने धार्मिक विश्वास रहेको छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार, द्वापर युगमा भगवान् श्रीकृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरी लुकाएका थिए । एकै रातमा उक्त द्वारका निर्माण गरेकाले उनलाई सफल वास्तुविद्का रूपमा मानिन्छ । त्यही समयदेखि विश्वकर्माको पूजा गर्ने परम्परा सुरु भएको हो । वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ पनि उनैले रचना गरेका हुन् ।

आजको दिनमा इन्जिन जडान भएका गाडीहरु र अन्य यन्त्रहरुको पनि पूजा गर्ने प्रचलन छ । यसबाहेक, वास्तु विद्याका ज्ञाताहरुको सम्मानमा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा पनि मनाउने गर्छन् । पछिल्लो समय नेपालमा वास्तु विद्याको महत्त्व बढ्दै गएको छ, जसको आधार स्थापत्यवेदमा पाइन्छ।