आज देशभर बदली, भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यसका कारण आज मुलुकभर मौसम सामान्यतया बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई दुवै क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली हुनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र अन्य भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण पहिरो र गेग्रान बहावको जोखिम बढ्ने, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात प्रभावित हुन सक्ने भन्दै सबैलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।