टुँडिखेलमा संविधान दिवस समारोह

काठमाडौं। आठौँ संविधान दिवस (राष्ट्रिय दिवस) को अवसरमा आज सैनिक मञ्च, टुँडिखेलमा विशेष समारोह आयोजना गरियो । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु लगायत उच्च सरकारी अधिकारीहरु र आम नागरिकको उपस्थिति थियो।

समारोहको मुख्य आकर्षणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्काउटले गरेको मार्च पास थियो । साथै, विभिन्न सांस्कृतिक झाँकी, लोकनृत्य र बालबालिकाको परेडले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। समारोहको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई एकताबद्ध गरेको बताए । उनले संविधानको मर्म र भावनालाई व्यवहारमा उतार्न सबैलाई आह्वान गरे । यस अवसरमा, नेपाली सेनाको हेलिकप्टरले आकाशबाट राष्ट्रिय झण्डा र लोगो प्रदर्शन गर्दै पुष्पवृष्टि गरेको थियो ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्दै लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली भएको बताइन् ।

उनले जेनजी पुस्ताको आन्दोलनले सङ्घीय गणतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, सुशासन लगायतका लोकतान्त्रिक मूल्य मान्यतामा खरो उत्रिन नसकेको देखाएको बताइन् । प्रधानमन्त्री कार्कीले युवा पुस्ताले उठाएका रोजगारी, गुणस्तरीय जीवन, पारदर्शिता र सुशासनजस्ता मुद्दाहरू सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेन्डा भएको उल्लेख गरिन् ।

उनले आफू कुनै शासकीय आकांक्षा वा पदको लालसाले प्रधानमन्त्री नबनेको स्पष्ट पारिन् । देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधमा यो जिम्मेवारी लिएको बताउँदै उनले नेपालको संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गराएर जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य रहेको बताइन् । उनी जनअपेक्षाअनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँछिन् ।