जेन–जीले जलाएका सवारी थन्क्याइँदै

काठमाडौँ । गत भदौ गते जेन–जी आन्दोलनका क्रममा सिंहदरबार परिसरभित्र आगजनी गरिएका सवारी साधनहरु हटाउने काम शुरु गरिएको छ । विभिन्न मन्त्रालय र कार्यालयमा गरी आगजनी गरिएका सयौँ सवारी साधन नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको संसद भवन) को परिसर भित्र राखिने भएको छ ।

हाल ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय परिसरमा जलेका सवारी साधन हटाउने काम भइरहेको छ भने केही दिनभित्र सिंहदरबार भित्रको जलेका सम्पूर्ण सवारी साधन हटाउने मन्त्रालय स्रोतले जनाएको छ ।

गत भदौ २७ गते अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएसँगै संसद विघटन गरिएको थियो । २०७९ को मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित सदस्यहरुको पदावधि त्यही विघटनसँगै सकिएको थियो ।

संसद भवन पनि जेन–जीले जलाएसँगै अब कबाडखानामा परिवर्तन हुने भएको हो । फागुन २१ गते निर्वाचन भएमा अब बस्ने संसद भवन सिंहदरबारभित्रै सम्पन्न हुने अपेक्षासमेत गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् ।

सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग आज भवन निर्माणबारे छलफल गर्दै उनले पुसमै निर्माणसम्पन्न गर्नेगरी काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।