जनताको संकल्प र राष्ट्रिय एकताको प्रतीकः पोख्रेल


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई नेपाली जनताको संकल्प र राष्ट्रिय एकताको प्रतीकका रुपमा स्मरण गरेको बताएका छन् । संविधान दिवसको उपलक्ष्यमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पोखरेलले संविधान दिवस हाम्रो एकताको दिवस भएको भन्दै जसले देशलाई नयाँ उचाइमा पुर्याउने सपना बोकेको स्पष्ट पारे ।

पोखरेलले विगतमा एमालेले अनेक चुनौती र षड्यन्त्र सामना गर्दै यहाँसम्म आइपुगेको भन्दै अहिले देखिएको अशान्ति र अस्थिरताको अवस्थामा पनि धैर्य, एकता र अग्रगमन आवश्यक रहेको बताए । उनले भने, हामी शान्त तलाउमा डुंगा चलाएर यहाँसम्म आएका होइनौँ । प्रत्येक कालखण्डमा चुनौतीको सामना गर्दै अघि बढेका हौँ ।
महासचिव शंकर पोखरेलले संविधान दिवसलाई आत्ममूल्यांकन र राष्ट्रिय एकताको दिवसको रूपमा मनाउनुपर्नेमा जोड दिए । पोखरेलले पार्टी आलोचना र समीक्षा गर्नबाट कहिल्यै पछि नहटेको स्पष्ट पार्दै भने, समीक्षाबाट भाग्ने पार्टी होइन नेकपा एमाले । उनले भने, हरेक जटिल मोडमा इतिहास र कामको समीक्षा गर्दै त्यसकै जगमा पार्टीलाई अगाडि बढाउने प्रयास गरेका छौँ । उनले अहिले देखिएको असन्तुष्टि र आक्रोशको जडमा युवा वर्ग, सुकुम्बासी र प्रवासी जनताबीच बढ्दो दूरी रहेको स्वीकार गर्दै ती वर्गको भावना समेट्न नसकिएको कमजोरीप्रति संकेत गरे ।

‘महसुस गर्यौँ, योजना बनायौँ तर जीवन्त बनाउन सकिएन, उनले भने । आजको असन्तोष ती योजनालाई व्यवहारमा नल्याउन सक्दाको परिणाम हो भन्ने कुरा बुझ्न जरुरी छ । महासचिव पोखरेलले विशेष गरी युवालाई राजनीतिसँग जोड्ने उद्देश्यसहित एमालेले मिशन शुरू गरे पनि त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको उल्लेख गरे । उनले आगामी दिनमा पार्टी युवावर्गसँग पुनः गहिरो सम्पर्कमा जाने स्पष्ट पारे ।
एमालेले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमै संविधान दिवस मनाएको हो । ओलीको अनुपस्थितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् । ओली गत भदौ २४ गते प्रधानमन्त्रीको पदबाट राजीनामा दिएपछि सेनाले हेलिकोप्टरमा सुरक्षित स्थलमा लगेको थियो । स्थिति साम्य भएपछि उनी बिहीबारमात्रै भक्तपुरको गुन्डुमा डेरा सरेका थिए । उनको बालकोटको घर भने जेनजी आन्दोलनमा जेनजीहरुले जलाएका थिए ।






















