जेन–जी आन्दोलनः परिवारको मियो नै ढलेपछि…


पाँचथर । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा तीन वर्ष बिताइ गत वैशाखमा झापा आभएका पाँचथरको हिलिहाङ गाउँपालिका–२ अमरपुरका कमल भण्डारी बाबुआमा भेट्न गाउँ आइपुगेकै थिएनन् । श्रीमती सीता र पाँच वर्षका छोरा झापामा रहेकाले उनी झापामै बसेर विर्तामोड नगरपालिका–१० बिराटपोखरमा घर बनाइरहेका थिए ।

गत भदौ तेश्रो साता मोवाइलमा कुराकानी हुँदा कमलले बुबा गणेशप्रसाद भण्डारीलाई दशैँसम्ममा घरको भुईं तलाको काम सक्ने बताएका थिए । दशैँमा यहाँको घर सिङ्गार्न आइपुग्छु भन्थ्यो, गणेशले भने, तर भदौ २५ गते कान्छो छोराले दाजुलाई गोली लाग्यो भनेर सुनायो । गणेशलाई देशका मुख्य शहरमा जेनजीको आन्दोलन भइरहेको र आन्दोलनमा आफ्नो छोरोसमेत सहभागी भएको थाहाँ नै थिएन ।
घर निर्माण गरिरहेका कमल ‘जेनजी’ आन्दोलन चर्किएको समयमा भदौ २४ गते साँझ आन्दोलनमा सहभागी हुन झापाको विर्तामोड गएका थिए । कमलका भाइ पवनका अनुसार श्रीमती सीतालाई ‘धेरै समय बस्दिन । एकैछिन आन्दोलनमा गएर आउँछु भनेर कमल गाउँका अन्य साथीसँग विर्तामोड लागेका थिए ।

रात पर्दै गए पनि कमलको फोन उठेन । श्रीमती सीता, बहिनी मायालगायतले रातैभरी मोवाइलमा फोन गरे । फोन लाग्ने तर कुनै प्रतिक्रिया नआउँदा सबैको मनमा आशंका पसिसकेको थियो । बहिनी मायाका अनुसार गत भदौ २५ गते बिहान १० बजे कमलको फोन बिएण्डसी अस्पतालका सुरक्षाकर्मीले उठाए ।
सुरक्षागार्डले ‘तपाईंको बिरामी यहाँ हुनुहुन्छ । आएर लिएर जानु भने । हामीलाई केही थाहाँ नै भएन । हाम्रो दाइ घाइते भएर अस्पतालमा हुनुहुन्छ भनेर हामीलाई कसैले जानकारी पनि गराएनन्, मायाले भनिन्, दाजुसँगै आन्दोलनमा आएका अरु कसैले पनि हामीलाई जानकारी गराएनन् । हामीले त चिन्ने कुरै भएन । त्यो समूहमा गएकामा दाजुलाई मात्रै गोली लागेछ ।
जेन–जी आन्दोलन उत्कर्षमा पुगेका बेला भदौ २४ गते साँझको खाना खाएर कमल आन्दोलनमा सहभागी हुन विर्तामोड आएका थिए । आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय विर्तामोड छेउँमा भएको झडपमा कमलको कन्चटमा गोली लागेको थियो । घाइते कमललाई सुरक्षाकर्मी र आन्दोलनकारीले उद्धार गरेर बिएण्डसी अस्पताल पुर्याएका थिए ।
कमलका परिवारजनले भोलिपल्ट मात्रै उनी ‘भेण्टिलेटर’मा भएको जानकारी पाए । दाजु कस्तो अवस्थामा हुनुहुन्थ्यो भनेर हामीलाई हेर्न नै दिइएन । भाउजू बेहोस् अवस्थामा हुनुहुन्थ्यो, बहिनी मायाले भनिन्, चिकित्सकले गोली निकाल्न सकेनौँ । आफन्त पनि आउनु भएन भन्नुभयो । हामीले थाहाँ नै पाएनौँ भोलिपल्टसम्म । तर त्यतिञ्जेलसम्म धेरै ढिलो भइसकेको रहेछ ।
कमलको शवलाई भदौ २८ गते अमरपुर ल्याई दाहसंस्कार गरेपश्चात काका शान्तिराम भण्डारी र श्रीमती सीता काजक्रियामा बसेका छन् । ५७ वर्षका बाबु गणेश आफैँ बिमारले थलिएका छन् । बिरामी आमा खगमायाले राम्रोसँग कान नसुन्ने कमलका भाइ पवनको भनाइ छ ।
बिरामी बाबु गणेशका गला अवरुद्ध छन् । गर्भवती श्रीमती सीता अझैँसम्म ‘अर्धचेत’ छन् । सिकुवामा ‘हार्दिक श्रद्धाञ्जलि’ लेखेर ३० वर्षका छोराको तस्बिर राखिएको छ । आफन्त र छरछिमेकी घरभरि छन् । तर गणेशलाई न निन्द्रा लागेको छ न भोकप्यास ।
झापामा घर निर्माण सकेर बाबुआमालाई पनि लैजाने कुरा कमलले परिवारसँग गर्दै आएका थिए । परिवारको मियो नै ढलेपछि न झापाको घर निर्माण सम्पन्न भयो न त बाबुआमालाई झापा लैजाने कुरा नै । हामीलाई पनि घर बनाइ सकेर झापा नै लैजाने भन्दै थियो । तर खोइ आज के आइलाग्यो, भक्कानिदै बाबु गणेशले भने । भुइ तला ढलान सकिएको घर फिनिसिङ गर्न बाँकी छ ।
कमल दशैँमा घर सिङ्गार्न आइपुगेनन् नै दशैँको मुखका परिवार र सिङ्गो गाउँ शोकमा डुबेको छ । तीस वर्षीय कमलको आठ वर्ष खाडीमै बितिसकेको थियो । खाडीमा गरेको परिश्रमले झापामा जग्गा खरिद गरेर घर बनाउने क्रममा निधन भएपछि भण्डारी परिवारमाथि बज्रपात परेको छ ।
कमलका पाँच वर्षका छोराले अब कहिल्यै बाबु भेट्ने छैनन्, गर्भमा रहेको सन्तानले बाबु देख्न पनि पाउने छैन् । अर्धचेत श्रीमती सीताले सहयात्राको सात वर्षमै श्रीमान् गुमाउनु परेको छ । यिनीहरुको भविश्य के होला भन्ने हामीलाई ठूलो चिन्ता छ, काका शान्तिरामले भने ।
शहीद परिवारलाई भेट्न जनप्रतिनिधि, राजनीतिक दलका नेता र आन्दोलनका अगुवा आइपुगेका छैनन् । हामीलाई भेट्न वडाध्यक्षसमेत आउनुभएको छैन, शहीद कमलकी बहिनी मायाले भनिन्, देशमा परिवर्तन होला भनेर आन्दोलनमा गएको दाइ बित्दा कसैले वास्ता पनि गर्नुभएन । जेन–जी आन्दोलनका सहादत प्राप्त गरेकाका परिवारलाई दिइने भनेको राहतबारे पनि भण्डारी परिवार जानकार छैन् ।






















